काठमाडौँ/गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।
बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।
मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेका अनुसार बैठकमा विशेषगरी सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ भएको थियो ।
सोहीअनुसार सबै ‘युनिट’मा आवश्यक बन्दोबस्तीका सामग्री पुगिसकेको, योजनाअनुरुप सबै सुरक्षा निकाय परिचालन भएका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सबै व्यवस्थापन भएको जानकारी दिनुभयो ।
संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना सङ्कलन गर्ने र कानुनविपरीतका गतिविधि भए गरेको पाइएबमोजिम कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, तीनवटै सुरक्षा निकायका प्रमुख तथा गृहमन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित