भोट हाल्न अब तीन दिन मात्रै बाँकी: प्रचार सकिँदै, आज मध्यरातिदेखि कडाइका साथ मौन अवधि लागू

काठमाडौँ/प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान मिति नजिकिँदै जाँदा चुनावी माहोल शान्त चरणतर्फ प्रवेश गर्न लागेको छ । फागुन २१ गते हुने मतदानका लागि उम्मेदवार तथा राजनीतिक दलले सोमबारसम्म मात्रै औपचारिक प्रचारप्रसार गर्न पाउने छन् । आजै मध्यरातदेखि निर्वाचनसम्बन्धी सबै प्रकारका प्रचार गतिविधिमा रोक लाग्नेछ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि तोकिएको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु भई मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ । यो अवधिमा कुनै पनि किसिमको चुनावी गतिविधि, सभा, सम्मेलन, अन्तर्क्रिया, कार्यशाला, गोष्ठी वा प्रचार सामग्रीको प्रयोग गर्न पाइँदैन ।

फागुपूर्णिमा पर्वसमेत परेकाले केही उम्मेदवारले अन्तिम दिनमा प्रत्यक्ष प्रचारभन्दा आन्तरिक बैठक, समीक्षा र रणनीति निर्माणमा समय दिने योजना बनाएका छन् । आयोगले मौन अवधि सुरु हुनुभन्दा ४८ घण्टा अघि नै मतदानस्थलको तीन सय मिटर वरपर राखिएका सबै प्रचार सामग्री हटाउन निर्देशन दिएको छ ।

मौन अवधिमा परम्परागत माध्यम मात्र होइन, डिजिटल प्लेटफर्ममा पनि कडाइ गरिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा तथा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना, पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत निषेध गरिएको छ । विगतमा राखिएका यस्ता सामग्री पनि हटाउनुपर्ने आयोगको स्पष्ट निर्देश छ ।

सञ्चारमाध्यमका लागि पनि छुट्टै आचरण तोकिएको छ । मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनबाहेक टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रसारण गर्न नपाइने जनाइएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको उल्लङ्घनलाई गम्भीर कानुनी अपराधका रूपमा लिइने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार तोकिएको आचरणविपरीत गतिविधि गरेमा उम्मेदवारको मनोनयनपत्र नै खारेज हुन सक्छ । यस्तो अवस्थामा सम्बन्धित उम्मेदवारले आगामी छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था छ ।

“मौन अवधि भनेको उम्मेदवार पनि ‘शून्य’मै बस्ने समय हो,” भण्डारीले भन्नुभयो, “यो बेला मत माग्ने होइन, बरु मतदातासामु गरेका प्रतिबद्धता कसरी कार्यान्वयन गर्ने भन्ने योजना बनाउने र प्रचारका क्रममा प्राप्त प्रतिक्रियाको समीक्षा गर्ने हो ।”

आयोगले यसपटक मौन अवधिमा विशेष निगरानी व्यवस्था मिलाइएको जनाएको छ । अनुगमन अधिकृत परिचालन गरिनुका साथै संवेदनशील र बढी चलखेल हुने क्षेत्रहरूमा अतिरिक्त अनुगमन गरिएको आयोगको भनाइ छ । निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पुग्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट सन्देश आयोगले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments