लुम्बिनी / लुम्बिनी प्रदेशको हरियाली काखमा, शहरको चहलपहलबाट केही पर, एउटा फरक आतिथ्य संसार आकार लिइरहेको छ। तिलोत्तमा–१३, कोटिहवामा विकसित टाइगर फरेष्ट होटेलले परम्परागत होटल अवधारणाभन्दा बाहिर निस्केर प्रकृति, खुला स्थान र मौलिक संरचनालाई एउटै अनुभवमा जोड्ने प्रयास गरेको छ।
नजिकै रहेको टाइगर प्यालेस बाइ सोल्टीको छेउमै फैलिएको यो परियोजनाले शान्त वातावरणमै आधुनिक सुविधाको स्वाद दिन खोजेको छ।
होटल परिसरभित्र छिर्नासाथ हरियालीले स्वागत गर्छ। काठ, खुला आकाश र प्राकृतिक प्रकाशको संयोजनले बनाएको संरचनाले यहाँ आउनेलाई “बसाइ” मात्र होइन, अनुभूति दिन्छ। यही अनुभूतिको केन्द्रमा छ—बारासिङ्गे बियर गार्डेन।

खुला बगैंचामा बसेर, धारा प्रणालीबाट सिधै खन्याइने बारसिङ्गेका भेराइटीहरू चाख्ने अवसर यो क्षेत्रमै नयाँ मानिन्छ। कारखानाबाट सिधै आएको जस्तो ताजगी, खुला वातावरण र साथीभाइको संगत—यिनै कारणले बियर गार्डेन छोटो समयमै आगन्तुकको रोजाइ बनेको छ।
खानपानतर्फ पनि होटलले आफ्नै शैली अपनाएको छ। काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी शेफले तयार पार्ने नेपाली र भारतीय परिकारहरू सुपथ मूल्यमा पाइन्छन्। साँझपख लाइभ म्युजिकको तालमा परिवार वा साथीहरूसँग बिताउने समय यहाँको अर्को आकर्षण हो—जहाँ औपचारिकताभन्दा आत्मीयता बढी महसुस हुन्छ।

हाल प्रारम्भिक चरणमै २० वटा काठका लक्जरी भिल्ला तथा कोठा सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका यी संरचनाले वातावरणमैत्री सन्देश त दिन्छन् नै, बसाइलाई पनि विशिष्ट बनाउँछन्। यससँगै डान्स क्लब, स्पा सेवा र बैंकेट हल पनि सञ्चालनमा आइसकेका छन्। १५०० जनासम्म अट्ने बैंकेट हलले विवाहदेखि ठूला संस्थागत कार्यक्रमसम्मका सम्भावनाहरू खोलिदिएको छ।

करीब पाँच बिघा क्षेत्रफलमा फैलिँदै गएको यस परियोजनामा हालसम्म करिब १५० करोड रुपैयाँ लगानी भइसकेको छ। सञ्चालक मिनराज भुसालका अनुसार थप १५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना अघि बढाइएको छ। आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, थप बगैंचा, बालबालिकाको खेल क्षेत्र र ८० वटा थप काठका भिल्ला निर्माण गर्ने लक्ष्य छ।
तर यो यात्रामा चुनौती पनि छन्। स्वदेशी सल्लो र सालजस्ता काठ प्रयोग गरी इन्जिनियरिङ मापदण्डअनुसार संरचना बनाउँदा नक्सा स्वीकृतिको स्पष्ट कार्यविधि नहुनु एउटा प्रमुख समस्या बनेको छ। बाँस संरचनाका लागि जस्तै, स्वदेशी काठ प्रयोगमा पनि स्पष्ट कानुनी आधार आवश्यक रहेको सञ्चालकको माग छ—जसले स्थानीय उत्पादन, उद्योग र रोजगारीलाई थप बल पुग्ने विश्वास गरिएको छ।
अहिले करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको होटलले पूर्ण सञ्चालनपछि अझ धेरै रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ। दीगो रोजगारीका लागि व्यवसाय प्रवर्द्धन र लगानी सुरक्षामा सरकारको स्पष्ट प्रतिबद्धता अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘फरक तर आत्मीय’ अनुभव दिन खोजिएको यो परियोजना सफल भए, प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने सम्भावना बोकेको देखिन्छ—जहाँ प्रकृति, संस्कृति र आधुनिक आतिथ्य एउटै कथामा गाँसिएका छन्।— क्षितिज विक्रम खनाल
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ फाल्गुन १५ गते