काठमाडौं/ गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा स्थापना गरिएको कृत्रिम बुद्धिमत्ता तथा उन्नत विश्लेषण इकाइको सोमबार औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ।
उद्घाटन कार्यक्रममा गृहमन्त्री अर्यालले उक्त इकाइको अवलोकन गर्दै त्यसबाट गरिने कार्य, प्रयोग विधि, उपयोगिता तथा भविष्यका सम्भावनाबारे विस्तृत जानकारी लिनुभएको थियो।
उक्त कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्च पदाधिकारीहरू तथा प्रहरी नायव महानिरीक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हाल बढ्दो साइबर अपराध, गलत तथा मिथ्या सूचना, संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध तथा सामाजिक अस्थिरता फैलाउने डिजिटल अभियानहरूले राष्ट्रिय सुरक्षा र अपराध अनुसन्धानमा गम्भीर चुनौती थपिरहेका छन्। यस्तो अवस्थामा उत्पादक कृत्रिम बुद्धिमत्ता, ठूला भाषा मोडेल, यन्त्र शिक्षण, पूर्वानुमानात्मक विश्लेषण तथा स्वचालित प्रणालीमा आधारित विश्लेषणबिनाको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसक्ने निष्कर्षसहित नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत यो उच्च प्रविधियुक्त, रणनीतिक र भविष्य उन्मुख संरचना स्थापना गरिएको हो।
यस इकाइ स्थापनाका प्रमुख उद्देश्यमा कृत्रिम बुद्धिमत्ताको संस्थागत अवलम्बन र सुदृढीकरण, पूर्वसक्रिय गुप्त सूचना तथा प्रारम्भिक चेतावनी प्रणाली विकास, संज्ञानात्मक सुरक्षा र सूचना हेरफेर नियन्त्रण, साइबर तथा डिजिटल अपराध सम्बन्धी गुप्त सूचना सुदृढीकरण, कृत्रिम बुद्धिमत्ता सहयोगी अनुसन्धान प्रणाली विकास, न्यायिक मान्यतायुक्त डिजिटल प्रमाण प्रणाली निर्माण, कृत्रिम बुद्धिमत्ताको दुरुपयोग पहिचान तथा प्रतिरक्षात्मक क्षमता विकास, साथै वर्णनात्मक, कारण विश्लेषणात्मक र पूर्वानुमानात्मक प्रणालीको विस्तार रहेका छन्।
नेपाल प्रहरीले यस इकाइको प्रयोगमार्फत गलत तथा मिथ्या सूचना प्रसारणमा संलग्न ५ वटा घटनाका व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङ जिल्लाबाट नियन्त्रणमा लिई कानुनी दायरामा ल्याइसकेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार सामाजिक सञ्जाल प्रयोग गर्दा आम नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ। उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरी गलत तथा मिथ्या सूचना फैलाउने जो कोहीलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सधैं सक्रिय रहने स्पष्ट पार्नुभयो। साथै, कानूनको पालना गर्दै जिम्मेवार र असल नागरिकको परिचय दिन सबैलाई उहाँले आग्रह गर्नुभएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित