
धादिङ/पृथ्वी राजमार्ग खण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। तीमध्ये ९ जनाको सनाखत भइसकेको जिल्ला प्रहरीले जनाएको छ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस सोमबार बिहान करिब १:३० बजे अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा एक जना बेलायती नागरिकसहित विभिन्न जिल्लाका यात्रुहरूको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार हालसम्म पहिचान खुलेका मृतकमध्ये २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, कास्की पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँ व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी छन्।
यसैगरी, तनहुँ शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध–टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँ भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पा तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान भएको छ। बाँकी १० मृतकमध्ये ७ पुरुष र ३ महिला रहेको प्रहरीको भनाइ छ। तीमध्ये एक पुरुषको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनाका बेला बसमा चालकसहित ४४ जना यात्रु सवार थिए—२९ पुरुष र १५ महिला। खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर टोली र स्थानीयवासीको सहकार्यमा उद्धार कार्य सुरु गरिएको थियो।
घाइते २५ जनामध्ये केहीलाई प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, मलेखु टिचिङ अस्पताल र जिल्ला अस्पताल धादिङबेंसी पठाइएको थियो। गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएकामा हाल १४ जना राष्ट्रिय ट्रमा सेन्टर, १० जना कलंकीस्थित नेशनल मेडिकल कलेज र १ जना मलेखु टिचिङ अस्पतालमा उपचाररत छन्।
घटनाको कारणबारे सूक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित