बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके/साइकल चालकका रुपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको हुनुभयो । नेपालगन्ज उपमहानगरपालिका–१ वाटरपार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गर्नुभएको छ ।

“तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन,” मल्लले भन्नुभयो, “मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठूलो हुँदै गएपछि पनि साइकल चलाइरहन मन लागेपछि यस्लाई छाड्नै सकिन ।”

राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरी अवकाश लिएपछि मल्ल नजिक होस् या टाढा साइकलमै यात्रा गर्नुहुन्छ । सन् २०१८ देखि नेपालगन्जमा माउन्टेन बाइक चलाऔँ भन्ने साथीहरुको भेलाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना ग-यो । मल्ल पनि उक्त क्लबको साधारण सदस्य हुनुभयो । क्लबमा आबद्ध भएदेखि उहाँलाई साइकल चलाउन झनै ऊर्जा मिलेको छ ।

“साइकल चलाउन त चलाइरहेकै थिएँ तर जब क्लबमा आबद्ध भएँ त्यसपछि साइकल चलाउने मेरो पेसा नै बनेको अनुभूति भयो र मैले निरन्तर साइकल चलाइरहेको छु”, उहाँले भन्नुभयो ।

मल्लले नेपालको पश्चिम सिमाना कुतिया कभरदेखि पूर्व झापाको केचना केवलसम्म एक हजार ११५ किलोमिटरसम्म साइकल यात्रा गरिसक्नुभएको छ । मल्ल मात्रै होइनन्, नेपालगन्जमा पछिल्लो केही वर्षयता साइकल चलाउनेहरुको सङ्ख्या बढ्दो छ । मोटरसाइकल र गाडीहरु जस्तो ध्वनि र वायू प्रदूषण पनि नहुने भएकाले साइकल नै स्वस्थ जीवनको उपयोगी साधन भएकाले बजारमा साइकल चलाउनेको सङ्ख्या वृद्धि हुँदै गएको क्लबका पूर्वअध्यक्ष गगन थापाले बताउनुभयो ।

साइक्लिङ गर्नुको मुख्य उद्देश्य बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु रहेको बताउँदै थापाले यस क्षेत्रमा साइकल चालकहरुको सङ्ख्यामा वृद्धि होस् भन्ने उद्देश्ले क्लबले ‘टुर दी ठाकुरद्वारा’ आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

बाँकेबाट बर्दियासम्मको आन्तरिक पर्यटकलाई बढावा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताउँदै थापाले भन्नुभयो, “हाम्रो पहिलो संस्करणमै पूर्वदेखि पश्चिमसम्मका साइकल चालकहरुले सहभागिता जनाउनुभएको थियो । यस्ले हामीलाई आजसम्म पनि संस्करण गरिरहन प्रेरणा दिएको छ ।”

कार्यक्रममा सहभागी विभिन्न जिल्लाका हुने भएकाले साइक्लिङ गर्दै बाँके र बर्दियासम्मको यात्रामा यहाँका धार्मिक, सांस्कृतिक, भौतिकलगायत अन्य पर्यटकीय दृश्यहरुको अवलोकन गरिने हुँदा ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रममा सहभागिता जनाउनेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

स्थापनाकालदेखि टुर दी ठाकुरद्वाराको आयोजना गर्दै आएको क्लबले यो वर्षको आठौँ संस्करण यही फागुनको ८ र ९ गते गर्ने भएको छ । क्लबका अध्यक्ष कविराम बुढाथोकीले यस वर्ष आयोजकले अघिल्लो वर्षको तुलनामा साइकल चलाउने बाटो र बसाइको व्यवस्थापन फरक तरिकाले गरेको बताउनुभयो ।

उहाँका अनुसार ८ गते बिहान बागेश्वरी मन्दिरमा उद्घाटनपश्चात् बाँकेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जको बफर जोनसँग बाँकेका पर्यावणहरुको भ्रमणपश्चात् बैजनाथा गाउँपालिका–१ स्थित गाभार भ्यालीस्थित ‘होम स्टे’मा पहिलो दिनको कार्यक्रम सकेर दोस्रो दिन बर्दियाको ठाकुरद्वारातिर प्रस्थान गर्ने कार्यक्रम छ ।

यो वर्ष आयोजना हुन लागेको उक्त टुर दी ठाकुरद्वाराको साइकल राइड कार्यक्रममा सातै प्रदेशका साइकल चालकहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार हालसम्म भारतको बरेली, लखनऊ, दिल्ली र नैनीताल गरी अन्य विभिन्न सहरबाट २१ जना भारतीय साइकल चालकहरुले सहभागिता जनाउनका लागि नाम दर्ता गराइसकेका छन् । यस वर्षको कार्यक्रममा महिला र बालबालिकाको सङ्ख्या उल्लेखनीय रहने जनाइएको छ ।

काठमाडौँबाट मात्रै ५० देखि ६५ वर्षसम्म उमेर समूहका ५० जना महिला साइकल चालकले सहभागिता जनाउन लागेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । शारीरिक रुपमा अपाङ्गता भएका चालकहरुले पनि सहभागिता जनाउने भएका छन् ।

अनुमानित बजेट रु २७ लाखमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाहरुले आर्थिक सहयोग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । यस वर्ष करिब ३०० को सङ्ख्यामा साइकल चालकको सहभागिता रहने अध्यक्ष बुढाथोकीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments