काभ्रेपलान्चोक :

बेथानचोकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

यो वर्षको प्रतियोगितामा गाउँपालिका भरीका ९ वटा माध्यमिक विद्यालयहरूले पूर्ण रूपमा सहभागिता जनाएका छन् ।

काभ्रेपलान्चोक / जिल्लाको बेथानचोक गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ आज (शुक्रबार) देखि औपचारिक रूपमा सुरु भएको छ ।

फागुन १, २ र ३ गते गरी तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिताले गाउँपालिका क्षेत्रका विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह र अनुशासन विकास गर्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको उद्घाटन समारोह शुक्रबार बिहान एक कार्यक्रमबीच शुरु भएको छ ।

पार्वती माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि एवं बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले खेलकुदलाई शिक्षा र स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताउँदै यस प्रकारका प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो ।

“राष्ट्रपति रनिङ शिल्ड जस्ता प्रतियोगिताले हाम्रा बालबालिकालाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्छन्,” अध्यक्ष अधिकारीले मन्तव्य राख्दै भन्नुभयो, “खेलकुदले अनुशासन, टिमवर्क, सहनशीलता र नेतृत्व क्षमता विकास गर्छ । हामीले यसलाई निरन्तरता दिनुपर्छ ।”

उहाँले बाढी पहिराको कष्टकर समयमा पनि गाउँपालिकाले खेलकुद पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा थप सुविधा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यसैगरी, गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले पनि सम्बोधन गर्दै खेलकुदलाई सामाजिक सद्भाव र एकताको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । “यो प्रतियोगितामा सहभागी हुने सबै विद्यार्थीहरू विजेता हुन्,” उपाध्यक्ष तिमल्सिनाले भन्नुभयो, “प्रतिस्पर्धाले मात्र होइन, सहभागिताले नै जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । हाम्रा बालबालिकाले खेलमा मात्र होइन, जीवनमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नुहोस् भन्ने शुभकामना छ ।”

यो वर्षको प्रतियोगितामा गाउँपालिका भरीका ९ वटा माध्यमिक विद्यालयहरूले पूर्ण रूपमा सहभागिता जनाएका छन् । विभिन्न वडाहरूमा अवस्थित यी विद्यालयहरूबाट छात्र तथा छात्रा दुवै समूहमा एथलेटिक्स, भलिबललगायतका विधाहरूमा प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।
राष्ट्रपति रनिङ शिल्ड नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित एक महत्त्वपूर्ण विद्यालय स्तरीय खेलकुद कार्यक्रम हो, जसले स्थानीय तहदेखि केन्द्रीय स्तरसम्मका प्रतियोगिताहरूको शृङ्खला निर्माण गरेको छ ।

बेथानचोक गाउँपालिकामा यो प्रतियोगिता नियमित रूपमा आयोजना हुँदै आएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास, राष्ट्रिय गान, पुष्प गुच्छा अर्पण तथा विद्यार्थीहरूले आ–आफ्नो विद्यालयको ब्यानर तथा झण्डा बोकेर मार्च पास गर्दा पूरै मैदान उत्साहले भरिएको थियो ।

प्रतियोगितामा सहभागी विद्यालयहरूमा भैरव माध्यमिक विद्यालय, चक्रेश्वर माध्यमिक विद्यालय, पार्वती माध्यमिक विद्यालय, भूमिमाता माध्यमिक विद्यालय, आत्मा विकास माध्यमिक विद्यालय सरस्वती माध्यमिक विद्यालय पार्थली, सरस्वती माध्यमिक विद्यालय भुग्देउ, कृष्णगोपाल माध्यमिक विद्यालय भीमसिनेश्वर माध्यमिक विद्यालय छन् । यी विद्यालयहरूले विगतका वर्षहरूमा पनि राम्रो प्रदर्शन गरेका थिए । यस वर्ष पनि उनीहरूबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डको यो संस्करणले स्थानीय स्तरमा खेलकुदको महत्वलाई अझ बढाएको छ । गाउँपालिकाका युवा तथा खेलकुद शाखाका संयोजक प्रमोद तिमल्सिनाका अनुसार, प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न विधामा भाग लिइरहेका छन् । तीन दिनसम्म चल्ने यो प्रतियोगितामा फागुन ३ गते अन्तिम दिन पुरस्कार वितरण तथा समापन समारोह हुने कार्यक्रम छ । रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन संयोजक एवम् पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सभापति रहनु भएको कार्यक्रममा ६ वटै वडाका वडाअध्यक्षहरु क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, राजकुमार वाइबा, विष्णु तामाङका साथै गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा सदस्यहरु, सहभागि विद्यालयका प्रअ, शिक्षक, रेफ्री विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments