कनेक्ट किसान र कृषि आधुनिकीकरण कार्यक्रमबीच एआईद्वारा डिजिटल कृषि सल्लाह उपलब्ध गराउने समझदारी

काठमाडौँ / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबिच नेपाली किसानलाई डिजिटल प्रविधिमार्फत कृषि सल्लाह र समस्या समाधान सेवा उपलब्ध गराउने उद्देश्यसहित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौता पत्रमा कनेक्ट किसानको तर्फबाट निर्देशक राजन दाहाल र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तर्फबाट कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

यस सम्झौताको मूल उद्देश्य किसानलाई भ्वाइस र टेक्स्ट–आधारित कृत्रिम बौद्धिकता (एआइ) एडभाइजरी प्लेटफर्म मार्फत खेतबारीमै देखिने समस्या समाधानमा सहज पहुँच प्रदान गर्नु हो। कनेक्ट किसानले विकास गरेको यो प्रविधिले किसानलाई मल व्यवस्थापन, रोग–कीरा नियन्त्रण, उत्पादन प्रविधि तथा बजारसम्बन्धी जानकारी रियल–टाइम मा उपलब्ध गराउनेछ।

कनेक्ट किसानका निर्देशक राजन दाहालका अनुसार भारतलगायत देशहरूमा प्रविधिमैत्री किसानहरूले एआईको प्रयोगमार्फत उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि गरिरहेका छन्। “नेपालमा पनि डिजिटल एआई एडभाइजरी प्रणालीको प्रयोग विस्तार गर्न सके किसानको निर्णय क्षमता बलियो हुने र उत्पादन लागत घट्नेछ,” उनले बताए।

उनका अनुसार किसानले खेतबारीमा देखिएका समस्या, नीतिगत अवरोध, बजारसँग सम्बन्धित चुनौती वा रोग–कीरा सम्बन्धी विवरण एआई प्रणालीमार्फत प्रत्यक्ष पठाउन सक्नेछन्। यी जानकारीहरूलाई डेटा रूपमा सङ्कलन गरी एनएएएमपीले आवश्यक नीतिगत, प्रविधिक तथा अनुसन्धानमूलक निर्णय लिन प्रयोग गर्नेछ।

“हाम्रो एआई प्रणालीले किसानको अवस्था, स्थान र बालीको प्रकृतिअनुसार व्यक्तिगत कृषि सल्लाह प्रदान गर्न सक्षम छ,” दाहालले स्पष्ट पारे।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले किसानलाई डिजिटल प्लेटफर्ममा जोडेर समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले कनेक्ट किसानसँग सहकार्य गरिएको बताए।

“किसानले खेतबारीमा जुनसुकै समस्या सामना गर्दा पनि डिजिटल प्लेटफर्ममार्फत तत्काल सल्लाह प्राप्त गर्न सक्नेछन्। जटिल वा दीर्घकालीन समस्याका हकमा प्रविधिक तथा अनुसन्धान टोलीको सहकार्यमा समाधान खोजिनेछ,” उनले भने।

श्रेष्ठका अनुसार यस समझदारीले किसानका समस्या दीर्घकालीन रूपमा डेटा–आधारित समाधानतर्फ लैजाने लक्ष्य राखेको छ। मल अभाव, बजार पहुँच, रोग व्यवस्थापनजस्ता संरचनात्मक समस्यालाई एआई प्रणालीमार्फत डेटा रूपमा संकलन गरी भविष्यका नीति र कार्यक्रम निर्माणमा प्रयोग गरिनेछ।

कनेक्ट किसानको एआई–आधारित डिजिटल प्लेटफर्मले किसानलाई कृषि सल्लाह, रोग–कीरा व्यवस्थापन, मल र बीउ सिफारिस, बजार मूल्य जानकारी लगायतका सेवाहरू उपलब्ध गराउनेछ। यस प्रणालीले किसानलाई आफ्नै खेतमा डाटा–आधारित निर्णय लिन सक्षम बनाउने र समग्र कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments