काठमाडौं/ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालित प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा विषयक दुई दिवसीय “नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२” सोमबार आयोजित विशेष समारोहबीच सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा सहभागीहरूको व्यावसायिक एवम् व्यवहारिक ज्ञान, दक्षता र अनुभवका साथै दृष्टिकोण तथा सुझावहरूबाट नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण पृष्ठपोषण मिलेको उल्लेख गर्नुभयो ।
प्रविधिको माध्यमबाट सिर्जित अपराधका साथै अपराध अनुसन्धानमा देखा परेका नवीनतम् चुनौतीहरू समाधान गर्न नेपाल प्रहरी निरन्तर लागिरहेको र यस्ता अपराध नियन्त्रण गर्नको लागि नागरिकको रचनात्मक सहयोगको पनि निरन्तर आवश्यकता रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सम्मेलनमा छलफल गरिएका विषयवस्तु र प्राप्त सुझावहरू आगामी दिनमा नेपाल प्रहरीका लागि नीति, रणनीति र कार्यदिशा निर्धारणका साथै क्षमता अभिवृद्धि, प्रशिक्षण एवम् वृत्ति विकासमा मार्गदर्शक हुने बताउनुभयो ।
सम्मेलनले नेपाल प्रहरीलाई अझ व्यावसायिक, उत्तरदायी र नागरिकमैत्री बन्न प्रेरणा दिएको तथा नेपाल प्रहरीको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाहको गुणस्तरमा सुधार र नागरिकको प्रहरी प्रतिको विश्वासमा वृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी रणनीतिक सम्मेलनका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सम्मेलनको महत्व सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी रणनीतिक सम्मेलनको गतिविधि समेटिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल एसबीआई बैंकका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, विभिन्न क्षेत्रका विज्ञ, विद्यार्थीहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनाली, पूर्व मुख्यसचिव लिलामणि पौडेल, अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, गृहमन्त्रालयका सहसचिव काली प्रसाद पराजुली, नविल बैंकका प्रमुख कार्यकारी अधिकारी मनोज कुमार ज्ञवाली, कानुनविद्हरू विष्णु सापकोट, अपुर्व खतिवडा, लक्ष्मी बखाड्यो, डा. रमेश पराजुली, गोपाल रिजाल, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, मानवअधिकारकर्मी कृष्ण पहाडी, सुरक्षाविद् चिरनजंग थापा, वरिष्ठ कलाकार राजेश हमाल, लेखक खगेन्द्र संग्रौला, अनुसन्धानकर्ता डा. खगनाथ अधिकारी, अन्तर्राष्ट्रिय विपद विज्ञ डा. सुमन कुमार कर्ण, सूचना प्रविधि विज्ञ गौरव राज पाण्डे, दीपक मल्ल, डा. श्रीधर मरासिनी, मनोज शाक्य, सडक पूर्वाधार विज्ञ ई. पार्थ पराजुली, सुनिल पौडेल, अनिल मर्सानी लगायत विभिन्न क्षेत्रका विषय विज्ञहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा नेपाल प्रहरीको संचालन, सुपरीवेक्षण र समन्वय, अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम् प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधार : नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरण, नेपाल प्रहरीमा मानवस्रोत व्यवस्थापन, नेपाल प्रहरीमा सूचना प्रविधि, संचार र कृत्रिम बुद्धिमत्ता, विपद व्यवस्थापनमा प्रथम उद्धारकका रूपमा नेपाल प्रहरी, सडक सुरक्षा प्रवर्द्धनमा प्रहरी भूमिका लगायतका विषयहरूमा सहभागी र विषय विज्ञबीच वृहत रूपमा छलफल एवम् अन्तरक्रिया भएको थियो ।
नेपाल प्रहरीको कार्य समीक्षा र यसका रणनीति निर्धारणका प्रक्रियामा बौद्धिक वृत्त, नागरिक तहको सहभागिता र अपनत्व विकास गर्नु, विद्यमान परिवेशमा आन्तरिक र बाह्य चुनौतीहरूको समग्र मुल्याङ्कन गर्नु, नेपाल प्रहरीको दीर्घकालीन दृष्टि, रणनीतिक लक्ष्य र कार्यान्वयन योग्य कार्ययोजनाका लागि सम्मेलनबाट सुझाव र मार्गदर्शन प्राप्त गर्नु, विद्यमान संगठन संचालनको अवस्था र सुधारका उपायहरू समीक्षा गर्दै प्रभावकारिता र कार्यकुशलता अभिवृद्धिका उपायहरू पहिचान गर्नु एवम् नेपाल प्रहरी प्रतिको दृष्टिकोण र जनअपेक्षाको सन्दर्भमा सेवा प्रवाहका प्रमुख क्षेत्रहरूमा सुधारका उपायहरू पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित