अबिच्युरी

कलाकर्मीको नजरमा अभिनेता ‘राते काइँला’

काठमाडौँ/ कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनील थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ ।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएका ६८ वर्षीय थापाको दुःखद् निधन भएको थियो ।

प्रारम्भिक जाँच गरेपछि अस्पतालले उहाँलाई शनिबार बिहान ७ बजेर ४४ मिनेटमा निधन भएको घोषणा गरेको थियो । नेपालीसँगै भारतीय चलचित्रमा प्रसिद्ध नाम बनेका अभिनेता थापाको निधन चलचित्रकर्मी स्तब्ध भएका छन् । पछिल्लो समय थापाले नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन गरिरहनुभएको थियो ।

उक्त चलचित्रमा खलपात्रको भूमिकामा निर्वाह गरिरहनुभएका थापाको आज छायाङ्कनको अन्तिम दिन शनिबार रहेको उक्त चलचित्रका निर्देशक माइकल चन्दले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायाङ्कनमै हुनुहुन्थ्यो । हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौँ तर उहाँले नै शनिबार बिहान गरौँ भनेपछि सारेका थियौँ । पछिल्लो समय झण्डै चार हप्तादेखि उहाँले चलचित्रमा काम गरिरहनुभएको थियो ।”

निर्देशक चन्दका अनुसार खलपात्रको भूमिका निर्वाह गरिरहेका थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायाङ्कन गर्ने तयारी भएको थियो । उहाँले निर्वाह गर्नुभएको खलपात्रलाई चलचित्रका अभिनेता विराज भट्टले ‘राम नाम सत्य’ को छायाङ्कन गर्ने दृश्य थियो ।

निर्देशक चन्दले भावविह्वल हुँदै भन्नुभयो, “चलचित्रमा उहाँलाई जलाउने दृश्य खिच्नु थियो । हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायाङ्कन गरिरहेका थियौँँ, सोही कारण एकहप्तादेखि निरन्तर छायाङ्कनमा संलग्न थियौँ । उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायाङ्कन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो । शुक्रबार बेलुका नियमित रुपमा छुटिएका थियौँ, त्यो नै अन्तिम भेट भयो ।”

उहाँसँगै चलचित्रमा अभिनय गरिरहनुभएका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताउनुभयो ।

“शनिबार बिहान हामी अभिनेता थापालाई छायाङ्कनका लागि कुरिरहेका थियौँ, अचानक उहाँ नरहेको खबर आयो । मैले चलचित्र ‘राम नाम सत्य’ मा पहिलो दृश्य उहाँसँगै दिएँ, हिजो बेलुकी अन्तिम दृश्य पनि उहाँसँगै भयो । उहाँले मलाई छायाङ्कन अवधिभर प्रोत्साहन गरिरहनुभयो, आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो”, अभिनेता ताम्राकारले भन्नुभयो ।

अभिनेता भुवन केसीले चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको प्रतिक्रिया दिनुभयो । नेपालीसँगै भारतीय चलचित्रमा स्थापित हुनुभएका अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उहाँले बताउनुभयो ।

“अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो । चलचित्र ‘चिनो’ मा पहिलोपटक काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरङ्ग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरु ‘सपना’ देखि ‘क्याप्टेन’ सम्म हामीले सहकार्य गरेका छौँ । उहाँ र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ । उहाँको बिदाइले हामीलाई अपुरणीय क्षति पुगेको छ”, अभिनेता केसीले भन्नुभयो ।

अभिनेता राजेश हमालले अभिनेता थापालाई एक अद्भूत क्षमता भएका सहकर्मीका रुपमा स्मरण गरिरहने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत अभिनेता थापाले कलाकारितामा देखिएको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गर्नुभएको छ ।

“नेपाली चलचित्रको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो चलचित्र यात्रा तपााईंप्रति समर्पित गर्दछु । तपाइको अभाव सधैँ महसुस हुनेछ”, अभिनेता हमालले उल्लेख गर्नुभएको छ ।

नेपाली चलचित्र ‘चिनो’मार्फत अभिनेता थापालाई नेपाली चलचित्रमा स्थापित गराउनुभएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उहाँको खुबी रहेको बताउनुभयो ।

“अभिनेता थापाले आफ्नो कामलाई सधैँ गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो । पछिल्लो समय मैले चलचित्र ‘पहाड’ मा उहाँसँग काम गरेँ, उहाँका मेहनत भाव देखेर म खुसी थिएँ । हामीले उहाँको दृश्यलाई समावेश गरेर प्रचार गर्न श्रव्यदृश्य (टिजर) तयार गरेका थियौँ, त्यही देखाउने सल्लाह हुँदै थियो, अचानक दुःखद् खबर सुनेँ । उहाँको अनुपस्थिति हामी चलचित्रकर्मीलाई महसुस हुनेछ”, निर्देशक घिमिरेले भन्नुभयो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि १ बजेर ३० मिनेटसम्म चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखेर पशुपति आर्यघाटमा लगी उहाँको अन्त्येष्टि सम्पन्न भएको छ ।

अभिनेता थापाको जन्म २०१७ जेठ ६ गते दाङमा भएको थियो । कलाकारिता गर्नुअघि उहाँले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गर्नुभयो । भारतीय चलचित्र ‘एक दुजे के लिये’ बाट कलाकारिताको सुरुआत गर्नुभएका थापाले नेपाली चलचित्र ‘मसाल’ मार्फत नेपालमा अभिनय यात्रा प्रारम्भ गर्नुभयो ।

करिब ३०० भन्दाबढी चलचित्रमा अभिनय गर्नुभएका थापाले नेपाली, हिन्दी र भोजपुरी भाषाका चलचित्रमा काम गर्नुभएको छ । पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृङ्खलाले उहाँलाई चर्चामा ल्याएको थियो । नेपाली चलचित्रले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले बताएका छन् ।

उहाँलाई कलाकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् । भारतीय कलाकार प्रियङ्का चोपडा जोनस, मनोज बाज्पायीलगायतले पनि सामाजिक सञ्जालमार्फत अभिनेता थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेतासरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँकोे एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।-भेषराज कार्की/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments