कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छः सभापति थापा

काठमाडौँ/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घरघरसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको भन्दै पार्टी अब देश बदल्ने अभियानमा लागेको सन्देश गाउँ र घरघरसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो । “कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन, यो सन्देश घरघरमा पुर्‍याउनुपर्छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्छ”, उहाँले भन्नुभयो । अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस भएर आएको उहाँको भनाइ छ ।

सभापति थापाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्नका लागि कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्नुभयो । उहाँले विशेष महाधिवेशनमा कसैले जितेको र हारको नभई पार्टीले जितेको बताउनुभयो । “सबै पक्षलाई मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस हो । मुलुकमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जानेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताउनुभयो । उहाँले भदौ २३ र २४ को आन्दोलनले आफूहरूलाई पनि खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरणमार्फत पार्टी निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो ।

महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु पार्टी नभएको बताउनुभयो । समाजको चाहनाअनुसार नयाँ ढङ्गबाट पार्टी अघि बढिरहेको उहाँको भनाइ छ । जनताले चाहेजस्तो नेतृत्व कांग्रेसले ल्याएको भन्दै उक्त नेतृत्वले देश बदल्ने अठोट लिएको उहाँले बताउनुभयो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद श्यामबहादुर खड्काले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ नेतृत्वसहित आएको पार्टीले देशको विकास गर्ने उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ को निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments