स्थानीय क्षेत्रको प्रतिबद्धतापत्र तथा घोषणापत्र बनाउनुअघि स्थानीय आवाज सुन्न घरदैलोमा: अध्यक्ष ओली

झापा/ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा घरदैलो अभियान सुरु गर्दै स्थानीय मतदाता र सर्वसाधारणका कुरा प्रत्यक्ष रूपमा सुन्न थालेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको स्थानीय प्रतिबद्धतापत्र र घोषणापत्र तयार गर्नुअघि जनताको आवाज संकलन गर्न आफू घरआँगनमै पुगेको ओलीले बताएका छन्।

शनिबार झापाको कमल गाउँपालिकाका एक दर्जनभन्दा बढी चोक र बजारमा पुगेर ओलीले स्थानीयका समस्या, अपेक्षा र सुझाव सुने। कमल गाउँपालिकाको क्याम्पामा उपस्थित स्थानीयलाई सम्बोधन गर्दै उनले भने, “म आज मेरा कुरा सुनाउन होइन, तपाईंहरूका कुरा सुन्न आएको हुँ। सबैको भावना र माग समेटेर मुलुकलाई समृद्ध बनाउने हाम्रो अभियान हो।”

आफ्नो निर्वाचन क्षेत्रको विकासमा कहिल्यै कञ्जुस्याइँ नगरेको स्पष्ट पार्दै ओलीले राष्ट्रिय राजनीतिका जिम्मेवारीका कारण सधैँ क्षेत्रमा आउन नपाएको भए पनि यहाँका समस्या र विकासप्रतिको चाहना आफूले राम्ररी बुझेको दाबी गरे। “केन्द्रमा रहेर देशलाई सही दिशा दिनुपर्ने बाध्यता छ, तर झापा–५ सधैँ मेरो प्राथमिकतामा छ,” उनले भने।

Lahachhap

मतदातालाई भ्रम र डरमा नपरी खुलेर देश बनाउने पक्षमा उभिन आग्रह गर्दै ओलीले समृद्ध नेपाल निर्माणमा जनताको सक्रिय योगदान अपरिहार्य रहेको बताए। यहाँका जनताले दिएको विश्वासकै कारण आफूले मुलुकको नेतृत्व गर्दा महत्वपूर्ण काम गर्न सफल भएको र कसैको शिर झुक्ने काम नगरेको उनको दाबी छ।

विकासका विषयमा आलोचना गर्ने प्रवृत्तिप्रति संकेत गर्दै ओलीले भने, “यहाँ विकास भएन भने केही भएन भन्छन्, विकास भयो भने यहाँ मात्रै भएर के हुन्छ भन्छन्। नकारात्मक सोच भएकाहरूले जे गर्दा पनि विरोध गर्छन्।”

एमाले झापा क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीको घरदैलो कार्यक्रम केही दिनसम्म जारी रहनेछ। स्थानीयले आफ्ना समस्या र सुझाव खुलेर राख्न सक्ने वातावरण सिर्जना गरिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments