काठमाडौंबाट दोहासम्मः वेब समिट कतार २०२६ मा नेपालको प्रविधि झण्डा फहराउँदै टिङटिङ

दोहा, कतार/ विश्व प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित सम्मेलन ‘वेब समिट कतार २०२६’ मा नेपालको उपस्थिति यसपटक विशेष बन्यो। हजारौँ अन्तर्राष्ट्रिय स्टार्टअपबीच एक्लै नेपाली प्रतिनिधित्व गर्दै एआई कम्पनी टिङटिङ ले नेपाल पनि अब विश्व प्रविधि दौडको अग्रपङ्क्तिमा उभिन सक्ने सन्देश दिएको छ।

फेब्रुअरी ४ देखि चार दिनसम्म दोहामा सम्पन्न सम्मेलनमा १२० देशका १,६०० भन्दा बढी स्टार्टअप सहभागी थिए। तीमध्ये नेपालबाट छनोट हुनु आफैँमा ठूलो उपलब्धि हो। स्वदेशमै विकसित ‘रिरी’ एआई इन्जिन र स्थानीय भाषालाई गहिराइमा बुझ्ने क्षमताले टिङटिङलाई विश्वमञ्चसम्म पुर्‍याएको हो।

‘नेपालमै बनेको प्रविधि, विश्वका लागि’ भन्ने अवधारणालाई व्यवहारमा उतार्दै आएको टिङटिङले स्वदेशी बजारमा आफूलाई पहिले नै प्रमाणित गरिसकेको छ। बैंक, इन्टरनेट सेवा प्रदायक तथा सरकारी निकायहरूको सञ्चार प्रणालीमा प्रयोग हुँदै आएको यो प्रविधि अहिले अन्तर्राष्ट्रिय विस्तारको चरणमा प्रवेश गरेको छ।

वेब समिटको मुख्य आकर्षण मानिने ‘स्टार्टअप शोकेस’मा टिङटिङका डाइरेक्टर अफ इन्जिनियरिङ एन्जेलिका साहले प्रस्तुति दिँदै नेपालमा विकसित एआई समाधानले ठूला संस्थाहरूलाई आफ्ना ग्राहकको आवाज बुझ्न कसरी सक्षम बनाइरहेको छ भन्ने विषयमा विश्व लगानीकर्ता र प्रविधि विज्ञहरूलाई अवगत गराइन्।

सम्मेलनका क्रममा टिङटिङ टोलीले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ता र प्रविधि क्षेत्रका अग्रणीहरूसँग सम्भावित साझेदारी र लगानीबारे महत्वपूर्ण छलफल गरेको छ।

टिङटिङको यो सहभागिताले नेपाल अब प्रविधिको उपभोक्ता मात्र नभई विश्व बजारका लागि समाधान उत्पादन गर्न सक्ने मुलुकका रूपमा उभिँदै गएको संकेत दिएको छ। काठमाडौंबाट सुरु भएको यो यात्रा आज विश्वमञ्चमा पुगेको छ, जसले नेपाली स्टार्टअप इकोसिस्टमका लागि अन्तर्राष्ट्रिय अवसरको नयाँ ढोका खोलिदिएको विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments