बाटो नभएको गाउँदेखि सडक सञ्जालसम्म: तीर्थ लामाको बाचा र महाभारतको रूपान्तरण

महाभारत, काभ्रेपलाञ्चोक/
२०७० साल। संविधानसभा सदस्य निर्वाचनको प्रचार थियो। नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा टुनिबासबाट घुँडे हुँदै हिँडेरै बनखुचौर पुगेका थिए। बुढाखानीसम्म मात्रै मोटर पुग्थ्यो। त्यसपछि उकालो–ओरालो, घाम–पानी, बाटोभन्दा बढी मानिसको सहनशीलता परीक्षा लिँदै अगाडि बढ्नुपर्थ्यो। त्यतिबेला उनले कल्पना गरेका थिए— यदि राजनीति सफल भयो भने, यहाँ हिँड्नु पर्ने छैन। सडक पुग्नैपर्छ। त्यही अनुभूति नै पछि महाभारत गाउँपालिकाको विकास यात्राको मोड बन्यो।

साविक गोकूले गाविसको टोकेवेशीबाट दमार हुँदै सानोपोखरा पुग्न ७–८ घण्टा लाग्थ्यो। चुनावी प्रचारको क्रममा त्यही यात्रा गरेपछि तीर्थ लामाले निष्कर्ष निकाले— सडक नपुगेसम्म यहाँको आर्थिक स्तर उठ्दैन।

त्यसपछि उनले केवल भाषणमै सीमित रहेनन्। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउनकै लागि आफ्नै खल्तीबाट रकम जुटाउन थाले।

Lahachhap

‘बुढाखानी–फोक्सिङटार–सानोपोखरा–ठूलोपोखरा–पात्ले–स्याप्लेडाँडा–सोक्तेल हुँदै तालढुंगा जोड्ने सडकको डीपीआरका लागि मैले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ सहयोग गरेको थिएँ,’ तीर्थ लामा भन्छन्, ‘कांग्रेसका साथीहरूको साथले १७ करोड रुपैयाँ बजेट विनियोजन सम्भव भयो।’

समय फेरियो। २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार गुणराज मुक्तानकाे चुनावी प्रचारमा तीर्थ लामा गाडीमै हरेक टोलबस्ती पुगे। जहाँ कहिल्यै मोटर नपुगेको थियो, त्यहाँ अब सडक पुगेको थियो।
उनकै पहलमा बजेट विनियोजन भएर महाभारत गाउँपालिकाका सबै वडामा सडक सञ्जाल विस्तार भयो।

Lahachhap

रामपुर–अहाले–बासपुर सडक होस् वा टुनीबास–घुँडे–बनखु मार्ग, सिपाली–महादेवटारको सर्दुङ उकालो होस् वा बुढाखानीदेखि तालढुंगा जोड्ने बहुप्रतीक्षित सडक—यी सबै योजनाको सुरुवात र विस्तारमा तीर्थ लामाको प्रत्यक्ष भूमिका देखिन्छ।

रोशी गाउँपालिका–१० का पूर्ववडाध्यक्ष दुधराज तामाङ सम्झन्छन्, ‘चुनाव प्रचारमा हिँडेरै बनखुचौर पुग्नुभएको थियो। त्यतिबेला गर्नुभएको बाचा उहाँले पूरा गर्नुभयो। आफ्नै डोजर प्रयोग गरेर पनि सडक खोल्नुभयो।’

Lahachhap

बागमती प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका लामाले सांसद हुँदा र नहुँदा पनि महाभारत क्षेत्रमा खानेपानी, सिँचाइ, सडक, गुम्बा, मठ–मन्दिरका लागि करिब ४०–५० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गराएको बताउँछन्।

आज महाभारत गाउँपालिकामा सडक केवल यातायातको माध्यम मात्र होइन, आयआर्जन, शिक्षा, स्वास्थ्य र सम्भावनाको ढोका बनेको छ। स्थानीय उत्पादन बजारसम्म पुग्न थालेका छन्, आवतजावत सहज भएको छ, र गाउँको जीवनशैली बदलिँदैछ।

Lahachhap

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार, ‘तीर्थ लामाको पहल र नेतृत्वमा रोशी हुँदै महाभारतलाई जिल्ला सदरमुकामसँग जोड्ने सडक सञ्जालले विकासमा ठूलो फड्को मारेको छ।’

कांग्रेस जिल्ला सचिव तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गुणराज मोक्तान भन्छन्, ‘तीर्थ लामाको पहलमा सुरु भएका सबै विकासलाई निरन्तरता दिनु हाम्रो दायित्व हो।’

Lahachhap

हिँडेरै बनखुचौर पुगेका तीर्थ लामा आज महाभारतका हरेक वडासम्म सडक पुगेको साक्षी बनेका छन्। यो केवल सडकको कथा होइन, अनुभूति, प्रतिबद्धता र पूरा गरिएको बाचाको कथा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments