मकवानपुर/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनताको चाहनाअनुसार प्रदेशमा सुशासन कायम राख्न र भ्रष्टाचारजन्य कार्यलाई नियन्त्रण गर्न सशक्त कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु प्रदेश सरकारको नैतिक जिम्मेवारी भएको बताउनुभएको छ ।
बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले अब युवा पुस्ताको मर्मलाई आत्मसात् गर्दै आर्थिक समृद्धितर्फ जोडिने प्रयास गरिए मात्र गणतन्त्रको भविष्य दिगो हुने धारणा राख्नुभयो ।
प्रदेश प्रमुख देवकोटाले दलका नेतृत्वले अब बानीव्यहोरा र राजनीतिक चिन्तनलाई परिवर्तन गर्नुपर्ने भन्दै त्यसो नगरिए मुलुकले ठूलो राजनीतिक दुर्घटनाको सामना गर्नुपर्ने जिकिर गर्नुभयो ।
समारोहमा प्रदेशसभाका कार्यवाहक सभामुख अप्सरा चापागार्इंले विभिन्न विधेयकहरू पारित, सरकार गठन, प्रदेश सरकारले गरेका कामकर्तव्य र जिम्मेवारीको समीक्षाका साथै विभिन्न समितिबाट भएका निर्णयलाई पारदर्शी रूपमा निर्देशित गर्नेलगायत कार्यमा प्रदेशसभाले आफ्नो सशक्त भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
उहाँले प्रदेशसभा सचिवालयमा प्रदेश सरकारद्वारा ल्याइएका विभिन्न प्रकारका ९९ वटा विधेयक पारित गरिएको र तीमध्ये ९० वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको जानकारी दिनुभयो ।
त्यस अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासनलाई तीव्रका साथ कार्यान्वयन गर्दै सङ्घीयतालाई प्रभावकारी तुल्याउन प्रदेशसभा बैठकले पनि मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले) बागमती संसदीय दलका नेता जगनाथ थपलियाले आगामी फागुन २१ मा शान्तिपूर्ण रुपमा निर्वाचन हुने वातावरण बनाउन सङ्घीय सरकार गम्भीर हुनुपर्ने र सबै राजनीतिक दल तथा मतदाताले पनि आफ्नो विवेक प्रयोग गरेर राष्ट्रियताको पक्षमा एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।
प्रदेशसभाका सचिव रामकुमार पौडेलले गत भदौ २३ र २४ मा आन्दोलनका क्रममा प्रदेशसभा भवनमा क्षति पुगेकाले प्रदेशसभाको बैठक सञ्चालन गर्न छुट्टै व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सचिवालय प्रकाशित प्रदेशसभा दर्पणको विमोचनसमेत गरिएको थियो । प्रदेशसभा सचिवालयका अधिकृत प्रकाश चापागाईं, कम्प्युटर अपरेटर सुजन पुडासैनी र अन्य कर्मचारीलाई प्रदेशसभाका तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित