काभ्रेपलाञ्चोक /आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनका लागि यतिबेला देशभर तयारी थालिएको छ । निर्वाचन आयोगले आफ्नो कार्यतालिका बनाएर तयारी गरिरहेको छ भने दलका उम्मेदवारहरु पनि आआफ्नो पक्षमा नतिजा बनाउन तिब्ररुपमा लागेका छन् ।
माघ ६ गते मनोनयन दर्तासँगै दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरु गाउँ गाउँमा पुगेर मतदातासामू मत माग्न व्यस्त छन् ।
नेपाली कांग्रेसले काभ्रे क्षेत्र नम्बर–२ मा पनि यतिबेला चुनावी माहोल बनाउँदै आएको छ । यस क्षेत्रमा कांग्रेसले तालिका बनाएर विभिन्न पालिकामा चुनावी गतिविधि तिब्र बनाएको हो ।
कांग्रेसले क्षेत्र नम्बर २ को बनेपा, बेथानचोक, मण्डनदेउपुर, भुम्लु लगायतका पालिकाहरुमा कार्यकर्ता भेला तथा चुनाव प्रचारका कार्यक्रम गरिसकेको छ । पछिल्लो पटक माघ १७ गते भुम्लु गाउँपालिकामा पनि कांग्रेसले कार्यक्रम गर्यो । यहाँ जिल्लाका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस क्षेत्रका कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्य आफूले जित्ने दाबी गर्नुहुन्छ । उहाँले कांग्रेस विगतको जस्तो नभएर अहिले नयाँ स्वरुपमा बदलिएको र जनलहर पनि कांग्रेसकै पक्षमा उर्लिएको बताउनु भयो । कांग्रेसले जिते मात्र देशमा समृद्धि आउने बताउँदै उहाँले आम नागरिकले यो पटक आफूलाई खोजिरहेको दाबी गर्नुभयो ।
कांग्रेसले विभिन्न कालखण्डमा देशको परिवर्तनमा अहम भूमिका खेलेको इतिहास स्मरण गराउँदै नेता आचार्यले हिजो गाउँ गाउँमा कति समस्या थिए, ती समस्या अहिले धेरैजसो पूरा हुँदै गएको भन्दै बाँकी समस्या समाधानमा पनि कांग्रेस जनताको माझ पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वर्षौंदेखि कांग्रेसले जनताको विश्वास जित्दै आएको आफूहरुले नबिर्सिएको र यो साथ सधैं रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

भुम्लुको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पालिका उपाध्यक्ष एवं कांग्रेसका युवा नेता जितेन्द्रमान तामाङले मधु आचार्यलाई जिताउन भुम्लुवासी तयार रहेको बताउँदै सबैले खोजेका नेता हामीले पाएकाले मधु आचार्यलाई जिताउन सबैलाई अनुरोध गर्नुभयो ।
विगतमा केही कमीकमजोरी भएका भए पनि, अहिले ती सबैलाई सच्याउँदै कांग्रेस अघि बढेको उहाँको दाबी थियो । मधु आचार्य एक जना पात्र भएकाले उहाँको जित नै कांग्रेसको जित भएको बताउँदै नेता तामाङले कांग्रेसमा कुनै विवाद नरहेको र एक ढिक्का भएर चुनावमा होमिएको बताउनुभयो ।
बाजागाजासहित नेता कार्यकर्ता उपस्थित रहेको कार्यक्रममा कांग्रेस काभ्रे जिल्ला कार्यसमितिका सबैजसो पदाधिकारीहरु, क्षेत्रिय सभापतिहरु तथा शुभचिन्तकहरु उपस्थित थिए । सबैले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतसहित विजयी गराउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित