
बागमती/साँझ पर्नासाथ अँध्यारोले घेर्ने देउजर र गढनसिरमा मंगलबार फरक दृश्य देखिए । झुपडीभित्र टुकीको मधुरो उज्यालो खोजिरहने आँखाहरु पहिलोपटक बल्बको तेज प्रकाशमा चम्किए । मोबाइल चार्ज गर्न घण्टौँ हिँड्नुपथ्र्यो भन्ने गुनासो गर्ने युवाहरू घरमै प्लग खोज्दै थिए । स्कुल जाने बालबालिका उज्यालो कोठामा रमाइरहेका थिए ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३ को दक्षिणमा पर्ने यी दुई बस्तीमा पहिलोपटक विद्युत् पुगेको हो । गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर जडान गरिएको पोलमा रिवन काट्दै बत्ती बाल्दा स्थानीयले लामो समयपछि विकासको अनुभूति गरे ।
‘बिकट र विपन्न समुदायलाई केन्द्रमा राखेर योजना बनाउँदा परिणाम ढिलो देखिए पनि दिगो हुन्छ’, अध्यक्ष घलानले भने, ‘आज बलेको बत्तीले यहाँका बालबालिकाको भविष्य उज्यालो बनाओस् भन्ने हाम्रो चाहना छ ।’

यहाँ तामाङ समुदायको बसोबास छ । औलोको त्रासका कारण बि.सं. १९९८ मा समथर भूभाग छोडेर तामाङ समुदायका पुर्खा पहाड चढेका थिए । यहाँ बस्ती बसेको आठ दशकमा पनि उनीहरू आधारभूत सेवाकै लागि संघर्षमा थिए । केही समय अघि मात्रै सडक खुलेको यो क्षेत्रमा वर्षातको समयमा आवतजावत अवरुद्ध हुने समस्या छ ।
गाउँपालिका कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिण र रौतहटको चन्द्रनिगाहपुरसँग जोडिएको यो क्षेत्रसम्म विद्युत् पु¥याउने लक्ष्य गत वर्षकै थियो । तर खोल्सा, भीर र अप्ठ्यारो भूगोलले योजना पछि धकेलिएको हो । यस वर्ष भने स्थानीयको श्रम, पालिकाको लगानी र नेपाल विद्युत् प्राधिकरणको सहयोगले सपना पूरा भएको हो ।
देउजरका ६२ र गढनसिरका १७ घरमा लाइन विस्तार गरिएको छ । प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको छ भने थ्रिफेज लाइनका लागि आवश्यक संरचना गाउँपालिकाले व्यवस्थापन गरेको हो ।

स्थानीयको श्रमदानले पनि गाउँमा विजुली पु¥याउन सम्भव भएको हो । पोल बोक्दै उकालो–ओरालो गर्न यहाँका स्थानीय आफैं अघि सरे । ‘बत्ती बालिएको देख्दा अब गाउँ छोड्नुपर्छ जस्तो लाग्दैन’, स्थानीय दिलबहादुर पाख्रिनले भने, ‘गाउँमा विजुली पनि आयो, सडक पनि आयो । अब गाउँमै आशा जागेको छ ।’
बिकट भुगोल र थोरै बस्तीका कारण यस अघिका जनप्रतिनिधिहरुको यी दुई गाउँको विकास प्राथमिकतामा परेन । यहाँका अधिकांस युवा रोजगारीका लागि गाउँ बाहिर छन् ।
३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रनका अनुसार इतिहास, शीतल हावापानी र जैविक वातावरणले भरिएको बागमती–३ कृषि र पर्यटनका लागि उपयुक्त क्षेत्र हो ।
‘गिताराजा–गितारानी, बनठाकुर राजा र बनठाकुर रानीको इतिहाससँग जोडिएको यो ठाउँ चन्द्रनिगाहपुरसंग सडकले जोड्न सके कृषि उत्पादन क्षेत्र र पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।-कृष्ण सारु मगर
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित