चिनौं उम्मेदवार

धुलिखेलको माटोदेखि संसदको बाटोसम्म: अशोक कुमार ब्याञ्जु श्रेष्ठको प्रस्तावित यात्रा

बिहानको घाम धुलिखेलका डाँडामाथि फैलिँदै गर्दा सहर शान्त देखिन्छ। यही सहरको विकास, स्वच्छ हावा र दिगो भविष्यका सपना बोकेर अगाडि बढेका व्यक्ति हुन्—अशोक कुमार ब्याञ्जु श्रेष्ठ। आज उनी काभ्रेपलाञ्चोक क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका उम्मेदवारका रूपमा उभिएका छन्, तर उनको यात्रा संसदको आकांक्षाबाट होइन, स्थानीय माटोको सेवाबाट सुरु भएको हो।

राजनीतिमा उनको प्रवेश वि.सं. २०४३ सालमा भयो। विद्यार्थी राजनीतिबाट सुरु भएको सक्रियता २०४६ सालको जनआन्दोलनमा आइपुग्दा अझ स्पष्ट पहिचान बनिसकेको थियो। परिवर्तनका ती दिनहरू ब्याञ्जुको चेतनामा आज पनि जीवित छन्—जहाँ लोकतन्त्र केवल नारा होइन, जिम्मेवारी थियो।

Lahachhap

२०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुख निर्वाचित हुँदा उनी देशकै कान्छा जनप्रतिनिधिमध्ये एक थिए। त्यो जिम्मेवारी उनको लागि पद होइन, अभ्यास थियो—सेवाको, समन्वयको र सुशासनको। त्यसपछि उनी नेपाल नगरपालिका संघमा लगातार २० वर्ष उपाध्यक्ष रहे, जहाँ स्थानीय सरकारको आवाज राष्ट्रिय तहमा बुलन्द बनाउने काम गरे।

संघीय संरचना कार्यान्वयनपछि २०७४ सालमा उनी धुलिखेलका नगर प्रमुख बने। यहीँबाट ब्याञ्जुको नेतृत्व केवल प्रशासनमा सीमित रहेन, दृष्टिकोणमा बदलियो—सहर कस्तो हुनुपर्छ भन्ने प्रश्नमा।

ब्याञ्जुको नेतृत्वमा धुलिखेलले इतिहास रच्यो। शून्य कार्बन उत्सर्जनतर्फ उन्मुख विश्वका १५ सहरमध्ये पाँचौँ र एसियाकै पहिलो सहर बन्नु सामान्य उपलब्धि थिएन। दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धि अभियान लागू गरेर धुलिखेलले वातावरणीय साहस देखायो।

दिगो विकास लक्ष्य अन्तर्गत शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीका चार लक्ष्य पूरा गर्दै ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्ने दक्षिण एसियाकै पहिलो नगर बन्नु ब्याञ्जुको योजनात्मक नेतृत्वको परिणाम थियो। धुलिखेल नेपालकै पहिलो र दक्षिण एसियाको दोस्रो स्वस्थ शहर घोषणा हुनु यसैको निरन्तरता हो।

सन् २०२१ देखि युसीएलजी–आस्पाक (UCLG–ASPAC) का अध्यक्षका रूपमा ब्याञ्जुले एशिया–प्यासिफिक क्षेत्रका स्थानीय सरकारहरूको नेतृत्व गरे। अन्तर्राष्ट्रिय निकायसँगको समन्वय, दातृ संस्थाको सहभागिता र नगर विकासमा वैदेशिक सहकार्य उनको कार्यशैलीको मुख्य विशेषता बन्यो।

Lahachhap

जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धन, फोहोरमैला व्यवस्थापन, शहरी योजना, खानेपानी, बजेट तथा नीति निर्माण—यी विषयहरू ब्याञ्जुको भाषणमा मात्र होइन, कार्यान्वयनमा देखिएका मुद्दा हुन्।

धुलिखेलमा सामुदायिक विद्यालय सुधारका लागि एमजीएमएल विधि, अंग्रेजी माध्यम, प्रविधियुक्त शिक्षक तालिम र भौतिक पूर्वाधार विस्तार गरियो। स्वास्थ्य क्षेत्रमा नसर्ने रोग नियन्त्रण, पोषण, जनचेतना, स्वास्थ्य सूचना केन्द्रको सुदृढीकरण तथा काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै अनुसन्धान र तालिमलाई प्राथमिकता दिइयो।

उनको सोच स्पष्ट छ—स्वस्थ नागरिक बिना समृद्ध सहर सम्भव छैन।

Lahachhap

स्थानीय शासन, संगठन निर्माण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा देखाएको अनुभवका आधारमा नेकपा एमालेले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. २ बाट अशोक कुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

धुलिखेललाई विश्वसँग जोड्ने नेताको यो नयाँ यात्रा संसदसम्म पुग्ला कि नपुग्ला—निर्णय मतदाताको हातमा छ। तर एउटा कुरा स्पष्ट छ, ब्याञ्जुको राजनीति सधैँ माटोबाट सुरु भएर भविष्यतर्फ हेर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments