“विद्यार्थी जागिर खोज्ने मात्रै नभई देशभित्रै रोजगारी सिर्जना गर्ने उद्यमी बन्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” उपकुलपति प्रा.डा. शारदा थपलिया ।
चितवन — कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई एग्री–बिजनेस इन्क्युबेसनमार्फत उद्यमशील बनाउने उद्देश्यसहित ६ वटा विद्यार्थी समूहलाई स्टार्टअप बिजनेस बीउ पूँजी अनुदान प्रदान गरिएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्रत्येक समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइएको हो।
कृषि, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, वन संकाय तथा आंगिक कलेजमा अध्ययनरत विद्यार्थीहरूले ३ देखि ५ जनाको समूह बनाई पेश गरेका नवप्रवर्तनमुखी व्यवसायिक योजनाका आधारमा अनुदान प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ। यस कार्यक्रमलाई विश्वविद्यालयले विद्यार्थी केन्द्रित एग्री–बिजनेस इन्क्युबेसन मोडलको महत्वपूर्ण अभ्यासका रूपमा अघि सारेको छ।
विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव प्रा.डा. ज्ञानबहादुर थापा, विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलिया, रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पाल तथा विभिन्न संकायका डीनहरूको उपस्थितिमा बीउ पूँजी सम्झौता सम्पन्न भएको विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्रा.डा. निराजन भट्टराईले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. थापाले विश्वविद्यालयहरूले रोजगारी खोज्ने मात्रै जनशक्ति उत्पादन गर्छन् भन्ने आरोपका बीच कृषि विश्वविद्यालयले अरूलाई रोजगारी दिन सक्ने व्यवसायिक जनशक्ति उत्पादन गरिरहेकोमा खुसी व्यक्त गरे।
उपकुलपति प्रा.डा. शारदा थपलियाले विद्यार्थीलाई पढाइसँगै उद्यमशीलतामा जोड्ने लक्ष्यअनुरूप यस्तो कार्यक्रम सञ्चालन गरिएको बताइन्। “विद्यार्थी जागिर खोज्ने मात्रै नभई देशभित्रै रोजगारी सिर्जना गर्ने उद्यमी बन्न सकून् भन्ने हाम्रो उद्देश्य हो,” उनले भनिन्। विद्यार्थी समूहका साझा सोच र अवधारणामा आधारित योजनामा विश्वविद्यालयले लगानी गरेर साथ दिएको उनको भनाइ छ।
रजिष्ट्रार प्रा.डा. पुष्कर पालले बुट क्याम्पमार्फत छनौट भएका विद्यार्थी समूहलाई एग्री–स्टार्टअपतर्फ उन्मुख गराउन बीउ पूँजी उपलब्ध गराइएको बताए।
बीउ पूँजी प्राप्त गर्ने समूहहरूले मोरिङ्गा पाउडर उत्पादन, धुले अचार, सजावटी बिरुवाको टिस्यु कल्चर, एग्री–अर्गानिक भर्मिवास, ट्राइकोभर्मी कम्पोस्ट तथा जिरो–वेष्ट फिस प्रोडक्टजस्ता व्यवसायिक योजनाहरू प्रस्तुत गरेका थिए। विज्ञहरूको मूल्याङ्कनपछि ती योजना स्वीकृत गरिएको हो।
निर्देशनालयका उप–निर्देशक डा. उज्वल तिवारीका अनुसार प्रारम्भमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइनेछ र व्यवसायको प्रगति मूल्याङ्कनपछि थप बीउ पूँजी प्रदान गरिनेछ।
विद्यार्थीहरूले पेश गरेका प्रस्तावहरूमध्ये प्रारम्भिक चरणमा छनौट भएका १२ समूहलाई बिजनेस इन्क्युबेसन सेन्टरमार्फत चार दिने बुट क्याम्प तालिम प्रदान गरिएको थियो। बुट क्याम्पमा व्यवसायिक योजना विकास, बजार विश्लेषण, वित्तीय व्यवस्थापन र प्रस्तुति सीपमा प्रशिक्षण दिइएको थियो।
“बुट क्याम्पपछि उत्कृष्ट व्यावसायिक योजना प्रस्तुत गर्ने ६ समूहलाई बीउ पूँजी प्रदान गरिएको हो,” प्रा.डा. भट्टराईले भने, “यी समूहलाई उत्पादन चरणसम्म निरन्तर मेन्टरसिप र प्राविधिक सहयोग पनि उपलब्ध गराइनेछ।”
विश्वविद्यालय परिसरभित्रै एग्री–बिजनेस इन्क्युबेसन सेन्टरका लागि छुट्टै भौतिक संरचना निर्माण गर्ने तयारीसमेत भइरहेको विश्वविद्यालयले जनाएको छ। यसअघि पनि निर्देशनालयले यस्ता बुट क्याम्प सञ्चालन गरी ७ वटा विद्यार्थी समूहलाई उद्यमशील र आत्मनिर्भर बनाउन बीउ पूँजी सहयोग गरिसकेको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित