गण्डकी/“क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल मध्यपहाडको साइकल यात्रामा रहेकी कविता चित्रकारले भन्नुभयो, “क्यान्सरसँग जुध्न हिम्मत बटुलेँ, चुनौती र सङ्घर्षलाई रोजेँ ।”
साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गर्नुभएकी उहाँ आज सुदूरपश्चिम प्रदेशको अछाम पुग्नुभएको छ । साइकलयात्रामा उहाँ एक्ली भने हुनुहुन्न । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकलयात्रीको टोली मध्यपहाडको लामो यात्रामा निस्केको हो ।
गत पुस १७ गते पाँचथरको चिवाभञ्ज्याङबाट सुरु भएको साइकलयात्रीको टोली गण्डकी प्रदेशको कास्की, पर्वत, बागलुङ हुँदै केही दिनअघि लुम्बिनी प्रदेश प्रवेश गरेको थियो । क्यान्सर सचेतनाका लागि मध्यपहाडको करिब एक हजार ८०० किलोमिटर लामो साइकलयात्रा तय गरिएको चित्रकारले बताउनुभयो ।
“ठाउँठाउँमा क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ । क्यान्सर रोगबाट प्रभावितलाई प्रेरणा र हौसला दिनु पनि हाम्रो यात्राको अर्को उद्देश्य हो”, उहाँले भन्नुभयो ।
काठमाडौँ निवासी चित्रकारलाई चार वर्षअघि स्तन क्यान्सर भएको थियो । तेस्रो चरणमा पुगेको अवस्थामा क्यान्सर पत्ता लागे पनि नियमित उपचारपछि उहाँले क्यान्सरलाई जित्नुभयो । नेपालमै गरिएको उपचारले आफू निको भएको चित्रकारले सुनाउनुभयो ।
“अहिले पनि क्यान्सरको नियमित जाँच र परीक्षण गराइरहनुपर्छ”, उहाँले भन्नुभयो, “क्यान्सर लाग्दैमा नआत्तिन सबैलाई आग्रह गर्छु । जस्तोसुकै कठिन परिस्थितिमा पनि आशावादी भएर बाँच्नुपर्छ भन्ने सन्देश दिन यो यात्रामा हिँडेकी छु ।”
सिन्धुपाल्चोकका हर्क लामालाई पनि केही वर्षअघि पिसाब थैलीको क्यान्सर भएको थियो । क्यान्सर विजेता उहाँ हाल क्यान्सर सचेतनासँगै क्यान्सरका बिरामीको उपचार र हेरचाहमा तल्लीन हुनुहुन्छ ।
क्यान्सर प्रभावितले अस्पतालमा भोगिरहेका समस्या देखेपछि उपचार कोष बनाउने योजनाअनुसार मध्यपहाडी लोकमार्गको साइकलयात्रामा निस्किएको उहाँले बताउनुभयो ।
“समाजमा क्यान्सरलाई जुन खालको भय र त्रासको दृष्टिले हेरिन्छ, त्यसलाई चिर्न पनि यो साइकलयात्राले मद्दत पु-याउँछ”, लामाले भन्नुभयो, “समयमा निदान र उपचार हुन सकेमा क्यान्सर निको हुन्छ र क्यान्सर विजेताले पनि अरू सरह जीवन बाँच्न सक्छन् भन्ने सन्देश प्रवाह हुनेछ ।”
साइकलयात्रामा साइक्लिङ खेलाडी उषा खनाल, धुलिखेल अस्पतालका डा विकास पराजुलीलगायत सहभागी छन् । साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा साइकलयात्रा भइरहेको पराजुलीले बताउनु भयो । आज अछाम हुँदै डोटी पुग्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
२८ दिनको साइकलयात्राले २४ दिन पार गरिसकेको र बैतडीको झुलाघाट पुगेर यात्रा टुङ्गिने छ । यात्राकै क्रममा ११ जिल्लाका १३ स्थानमा क्यान्सर सेचतनाका कार्यक्रम गरिएको छ । यसबाट करिब एक हजार ७०० नागरिक यसबाट लाभान्वित हुनुभएको छ । सम्बन्धित जिल्लाका स्थानीय तह, स्वास्थ्य संस्था, सामाजिक सङ्घसंस्थासँग समन्वय हुने गरेको छ ।
साइकलयात्राका क्रममा पाठेघर मुखको क्यान्सर, स्तन क्यान्सरलगायत विषयमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको हो । यात्राका माध्यमबाट धुलिखेल अस्पतालमा क्यान्सर उपचार कोष स्थापना गरिने र सङ्कलन भएको रकममा अस्पतालले थप ५० प्रतिशत रकम उपलब्ध गराउने छ ।
क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत कोषका लागि सहयोग सङ्कलन भइरहेकामा हालसम्म रु ३० लाखभन्दा बढी सङ्कलन भइसकेको छ । धुलिखेल अस्पतालमा क्यान्सरको उपचारका लागि आउने विपन्न परिवारका सदस्यलाई कोषबाट सहयोग प्रदान हुने यस अगावै सार्वजनिक गरिएको छ ।
साइकलयात्राका क्रममा सङ्कलन भएको रकम आगामी फेबु्रअरी ४ मा हुने विश्व क्यान्सर दिवसका दिन अस्पताललाई हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको साइकलयात्रालाई जोडेर क्यान्सर विजेताको जीवन–कथालाई वृत्तचित्रमा पनि उतारिने अस्पतालले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित