नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’ आयोजना हुँदै

काठमाडौँ — रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत नेपालका १४ वटा रोटरी क्लबहरूको समूह रोटरी प्रेसिडेन्ट एक्शन ग्रुप २०२५/२६ ले नेपालमै पहिलोपटक ‘रोटरी हाट बजार’ आयोजना गर्ने भएको छ।

साना उद्यमशीलता, महिला सशक्तिकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, कला–संस्कृति तथा सामुदायिक सहभागितालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित दुईदिने कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

उक्त ‘रोटरी हाट बजार’ माघ १० र ११ गते, २०८२ (जनवरी २४ र २५, २०२६) मा रोटरी भवन, थापाथलीस्थित रोटरी क्लब अफ काठमाडौं परिसर मा सञ्चालन हुनेछ। कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ भने सर्वसाधारणका लागि नि:शुल्क प्रवेश व्यवस्था गरिएको छ।

हाट बजारमा स्थानीय उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा बिक्रीका साथै मनोरञ्जन र खेल क्षेत्र, विभिन्न खानाका स्टलहरू, चित्रकला प्रतियोगिता, सार्वजनिक वक्तृत्व कला प्रशिक्षण तथा प्रतियोगिता, फेस पेन्टिङ, म्याजिक शो, नि:शुल्क दन्त परीक्षणलगायत विविध मनोरञ्जनात्मक तथा सामाजिक गतिविधिहरू समावेश गरिनेछ।

आयोजकका अनुसार यो कार्यक्रम स्थानीय उद्यमी, महिला उद्यमी तथा सर्जकहरूलाई प्रोत्साहन गर्ने ऐतिहासिक र नवीन पहल हो। कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष रोटरियन निर्मल ढकालले यस पहललाई आम सर्वसाधारणसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै समाचार संकलन, फोटो/भिडियो रिपोर्टिङ तथा अन्तर्वार्ताका लागि आवश्यक सम्पूर्ण समन्वय उपलब्ध गराइने जानकारी दिएका छन्।

आयोजकले ‘रोटरी हाट बजार’मा सञ्चारमाध्यमकर्मी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments