काभ्रेपलाञ्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले इजाजत प्राप्त हतियार बुझाउन आदेश जारी गरेको छ।
प्रशासनले मंगलबार एक ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै जिल्लाभित्र रहेका सर्वसाधारणसँग भएका इजाजत प्राप्त हतियारहरू आगामी माघ २१ गतेभित्र नजिकैको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको हो। निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले यस्तो कदम चालेको हो।
सूचनामा उल्लेख भएअनुसार बुझाइएका हतियारहरू निर्वाचन सम्पन्न भएको एक महिनापछि (अर्थात् २०८२ चैत २० गते पछि) सम्बन्धित व्यक्तिले जुन प्रहरी इकाईमा बुझाएको हो, त्यहीँबाट फिर्ता लिन सक्नेछन्।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको समयसीमा (माघ २१ गते) भित्र हतियार नबुझाएमा र कसैले लुकाइछिपाइ राखेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
प्रशासनले निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित