‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि-२०८२’ जारी

काठमाडौँ/ केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र जाँचपासका लागि ‘चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी कार्यविधि-२०८२’ जारी गरेको छ । समितिले गत पुस २ देखि लागू गरेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि-२०८२’ लाई चलचित्रकर्मीले असहमति जनाएपछि संशोधन गर्दै गत पुस ३० गते नयाँ कार्यविधि ल्याएको हो ।

नयाँ कार्यविधि चलचित्र काँटछाँटभन्दा वर्गीकरण गर्ने उद्देश्यसहित ल्याइएको चलचित्रकर्मीले बताएका छन् । “हामी सरोकार भएका चलचित्रकर्मीले चलचित्र क्षेत्रको दीर्घकालीन हितलाई केन्द्रमा राखी छलफलका क्रममा विसं २०२६ को चलचित्र ऐन र विसं २०५७ को नियमावलीले निर्धारण गरेको कानुनी संरचनाभित्र रही चलचित्र जाँच तथा वर्गीकरणसम्बन्धी नयाँ व्यवस्था गर्नुपर्ने व्यावहारिक र कानुनी अप्ठ्याराको गहिरो समीक्षा गरिएको थियो । तत्काल कानुन संशोधन सम्भव नभएको वर्तमान अवस्थामा उपलब्ध कानुनी सीमाभित्र रहेर अधिकतम सुधार गर्न सकिने दायरामा यो कार्यविधि तयार गरिएको हो”, सरोकार भएकाको समूहले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघिको कार्यविधिमा सुझाव दिने चलचित्रकर्मीमा नवीन सुब्बा, खगेन्द्र लामिछाने, मनोज पण्डित, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, रौनक विक्रम कँडेल, रवीन्द्रसिंह बानियाँ, जनकदीप पराजुली, सुरेन्द्र थापा हुनहुन्छ ।

बानियाँले संवाद, सहकार्य र जिम्मेवार पहलमार्फत मन्त्रालयले देखाएको अग्रसरता स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रको वर्गीकरण प्रणालीलाई अन्तरराष्ट्रिय अभ्यास अनुरूप आधुनिक, वैज्ञानिक र समयसापेक्ष बनाउने विषय आगामी नयाँ चलचित्र ऐनमार्फत कानुनी रूपमा सुनिश्चित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ । यही आश्वासनका आधारमा हामीले चलचित्र जाँच तथा वर्गीकरण कार्यविधिलाई हालका लागि सहमति जनाएका छौँ ।”

उहाँले हालका कानुनी सीमाभित्र अधिकतम सुधार र भविष्यमा समयसापेक्ष कानुनी संरचनाको प्रतिबद्धतासहित आएको कार्यविधिले चलचित्रकर्मीलाई राहत दिएको धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments