काभ्रेका दुई निर्वाचन क्षेत्रका कार्यालय सञ्चालनमा, माघ ६ गते उम्मेदवारी दर्ता सुरु

काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोक जिल्लाका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको छ । यसै कार्यालयबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन कार्य सञ्चालन गरिनेछ । निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय भने पनौती नगरपालिकामा स्थापना गरिएको छ ।

निर्वाचन तालिकाअनुसार काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति यसअघि नै भइसकेको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको जिम्मेवारी न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई दिइएको छ भने निर्वाचन क्षेत्र नम्बर १ का लागि जिल्ला न्यायाधिवक्ता टिकाभूषण घिमिरे नियुक्त भएका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन अधिकृतहरूले शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यालय उद्घाटन कार्यक्रममा जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, न्यायाधीश नगेन्द्रकुमार कालाखेती, सुरक्षा निकायका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

काभ्रेपलाञ्चोक जिल्लामा कुल ३ लाख २६ हजार ६ सय ११ मतदाताका लागि १ सय ८९ मतदान स्थल र ४ सय मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ ।

यसअघि माघ ४ गते जिल्लास्थित क्रियाशील राजनीतिक दलहरूको सर्वदलीय बैठक आह्वान गरिएको मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments