काठमाडौँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (FIU–Nepal) ले आर्थिक वर्ष २०८१/८२ (२०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा शंकास्पद वित्तीय कारोबारको संख्या उल्लेख्य रूपमा बढ्दै गएको, विश्लेषण क्षमता विस्तार भएको र अन्तर्राष्ट्रिय समन्वय सुदृढ बनेको उल्लेख गरिएको छ ।
FIU–Nepal का अनुसार आर्थिक वर्ष २०८१/८२ मा goAML प्रणालीमार्फत प्राप्त शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (STRs/SARs) को संख्या अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४ हजार ८५७ भन्दा बढी STRs/SARs प्राप्त भएका छन्, जसले नेपालमा वित्तीय प्रणालीभित्र जोखिम पहिचान र रिपोर्टिङ प्रणाली सुदृढ हुँदै गएको संकेत गर्छ ।
प्राप्त प्रतिवेदनको विस्तृत विश्लेषणपछि FIU ले करिब ४० प्रतिशतले बढी वित्तीय जानकारी प्रतिवेदन (Financial Intelligence Reports) तयार गरी नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पठाएको जनाएको छ । यसले मनी लन्डरिङ, आतंकवादी वित्तपोषण तथा अन्य संगठित आर्थिक अपराधको अनुसन्धान र अभियोजन प्रक्रियामा सहयोग पुगेको FIU को दाबी छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता र प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरिएको छ । साथै goAML Operational Guidelines जारी तथा अद्यावधिक गरिएको, सीमा पार हुने वित्तीय कारोबारसम्बन्धी जोखिम व्यवस्थापनमा थप सुधार गरिएको जनाइएको छ ।
FIU–Nepal ले यस अवधिमा बैंक तथा वित्तीय संस्था, नियामक निकाय, कानुन कार्यान्वयन निकाय तथा अन्य सरोकारवालाका लागि क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।
अन्तर्राष्ट्रिय तहमा समेत सहकार्य विस्तार गरिएको FIU को भनाइ छ । आर्थिक वर्ष २०८१/८२ मा विदेशी वित्तीय जानकारी इकाइहरूसँग ६४ वटा सूचना आदान–प्रदान गरिएको छ । साथै एशिया प्यासिफिक ग्रुप (APG) को सन् २०२३ को पारस्परिक मूल्याङ्कनपछि नेपाललाई ‘Jurisdiction Under Increased Monitoring’ (ग्रे लिस्ट) बाट बाहिर ल्याउन गरिएका समन्वयात्मक प्रयाससमेत प्रतिवेदनमा समेटिएका छन् ।
वार्षिक प्रतिवेदनमा आगामी दिनमा जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल सुधार FIU–Nepal का प्राथमिकता रहने उल्लेख छ । प्रतिवेदन FIU–Nepal तथा नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध रहेको जनाइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित