पनौती नगरपालिकाको १८औँ नगरसभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न, १० करोडभन्दा बढी बजेट पुनः व्यवस्थापन

काभ्रेपलाञ्चोक / पनौती नगरपालिकाको अठारौँ नगरसभा आज कुनै विवादबिना सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। २०७९ सालमा निर्वाचित जनप्रतिनिधिहरू आएपछि विगतका अधिकांश नगरसभामा देखिँदै आएको मतभेद र किचलो यसपटक भने देखिएन। जनप्रतिनिधिहरूबीच सहमति कायम भएपछि नगरसभा शान्त र सकारात्मक वातावरणमा सम्पन्न भएको हो।

नगरपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण एजेण्डामाथि विस्तृत छलफल गर्दै नगरसभा सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ। नगरसभाको शान्त वातावरणलाई पनौतीका नागरिकहरूले पनि सकारात्मक रूपमा लिएका छन्।

सभामा चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव उपप्रमुख गीता बञ्जाराले प्रस्तुत गर्नुभएको थियो। १७औँ नगरसभाबाट स्वीकृत विनियोजन ऐन, २०८२ अनुसार पुँजीगत खर्चतर्फ ठेक्का स्वीकृत भई बजेट मौज्दात रहेका विभिन्न सडक योजनाबाट १० करोड १४ लाख ५ हजार रुपैयाँ पुनः व्यवस्थापन गर्ने प्रस्ताव पेश गरिएको थियो।

पुनः व्यवस्थापन गरिएको रकममध्ये बजेट अपुग रहेका योजनामा थप विनियोजन गरिएको छ। जसअनुसार वडा नं. ५ को भवन निर्माणका लागि साविक ४५ लाख रुपैयाँमा थप गरी ८५ लाख रुपैयाँ, रोशी कोरिडोर तथा तटबन्ध निर्माणका लागि साविक ३ करोड रुपैयाँमा थप गरी ८ करोड रुपैयाँ, क्षेत्रीय रंगशालाको जग्गा खरिदका लागि साविक ४२ लाख ६५ हजार रुपैयाँमा थप गरी २ करोड २ लाख ६५ हजार रुपैयाँ र वडा नं. ४ को ज्यालिचिटी पाटी छाना निर्माणका लागि २९ लाख ४० हजार रुपैयाँ अन्तिम बजेट कायम गरिएको छ।

Lahachhap

यसरी चारवटा योजनामा जम्मा ३ करोड ९० लाख ५ हजार रुपैयाँ बजेट थप गरेपछि बाँकी रहेको ६ करोड २४ लाख रुपैयाँमध्ये नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। बाँकी २४ लाख रुपैयाँ नगरभित्रका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि प्रयोग हुने लोडर, रोलर, ट्रक, डोजरलगायतका उपकरणको इन्धन व्यवस्थापनमा खर्च गरिनेछ।

त्यसैगरी चालु खर्चतर्फ साविकमा विनियोजन गरिएको बजेटबाट भएको बचत तथा घटाइएको रकम समायोजन गर्दै करारमा कार्यरत कर्मचारीहरूलाई २०८२ साल पुस महिनादेखि महँगी भत्ता उपलब्ध गराउन २५ लाख रुपैयाँ विनियोजन गरिएको छ। साथै सवारी साधन मर्मतका लागि ८ लाख रुपैयाँ, कार्यालय सञ्चालन खर्चमा ६ लाख ८० हजार रुपैयाँ, रोशी कोरिडोर क्षेत्रमा पानी छर्किने कार्यका लागि ४० लाख रुपैयाँ, आन्तरिक आय संकलनमा खटिएका कर्मचारीहरूको थप सुविधाका लागि ११ लाख रुपैयाँ, गत आर्थिक वर्षको दुग्ध प्रोत्साहन अनुदान छुट रकम भुक्तानीका लागि २ लाख ४५ हजार रुपैयाँ, अनुगमन तथा मूल्यांकनका लागि ४ लाख ५० हजार रुपैयाँ तथा सरुवा भ्रमण खर्चका लागि २ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments