कांग्रेस विशेष महाधिवेशन

२६६२ जना प्रतिनिधिले गराए नाम दर्ता, कट्यो बहुमत

काठमाडौँ/ नेपाली कांग्रेसको आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन कुल २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कायम रहेका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये पहिलो दिन करिब ५६ प्रतिशत प्रतिनिधिहरूले नाम दर्ता गराएका हुन् । बहुमत सङ्ख्या पहिलो दिनमै दर्ता भएपछि आयोजक पक्ष उत्साहित देखिएको छ ।

विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेद्वारा आइतबार राति जारी प्रेस विज्ञप्ति अनुसार प्रदेशगत र संगठनगत रूपमा छुट्टाछुट्टै दर्ता स्टलहरूको व्यवस्था गरिएको थियो ।

प्राप्त तथ्याङ्क अनुसार मधेस प्रदेशबाट सबैभन्दा बढी ४ सय ४६ जना प्रतिनिधिले नाम दर्ता गराएका छन् । त्यसैगरी बागमती प्रदेशबाट ४ सय ३२ र कोशी प्रदेशबाट ४ सय २५ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

लुम्बिनी प्रदेशबाट ३ सय ९८ जना प्रतिनिधि सहभागी हुँदा गण्डकी प्रदेशबाट २ सय ९६ जनाले नाम दर्ता गराएका छन् । भौगोलिक रूपमा टाढा रहेका सुदूरपश्चिम प्रदेशबाट १ सय ५८ र कर्णाली प्रदेशबाट १ सय ३४ जना प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

यसैगरी, काठमाडौँ उपत्यकाबाट १ सय ७८ जना र पार्टीका विभिन्न भातृ, शुभेच्छुक एवं विदेशस्थित जनसम्पर्क समितिहरूबाट १ सय ९५ जना प्रतिनिधिले आफ्नो उपस्थिति दर्ता गराएका छन् ।

बाँकी रहेका र आउने क्रममा रहेका प्रतिनिधिहरूका लागि सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रिया सुरु गरिने पाण्डेले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले यो महाधिवेशनलाई वैधानिकता दिन अस्वीकार गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अनुवाइमा विशेष महाधिवेशन भएको हो ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments