नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी

गण्डकी/पर्यटकीय राजधानी पोखरामा आजदेखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार सूमह, पोखराको आयोजना र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभयो ।

उहाँले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रियस्तरमा चिनारी दिन प्रदर्शनीले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । “प्रदर्शनी आफैँमा सिकाइ हो, नेपाली र अन्तरराष्ट्रिय जगतका कलाकारहरुबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुनेछ”, उहाँले भन्नुभयो, “पोखरालाई कलाका माध्यमबाट विश्वमाझ जोड्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।”

आयरल्याण्डका कलाकार लोरा मर्फीले नेपाली कलाकारहरुसँगै प्रदर्शनीमा सहभागी हुन पाउँदा आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले पोखरा र यस आसपासका क्षेत्रका कलाकारलाई अन्तरराष्ट्रियस्तरका कलाकारहरुसँग जोड्न आफूले पहल गर्दै आएको बताउनुभयो । प्रदर्शनीमा सहभागी हुने विदेशी कलाकारको संयोजन मर्फीले गर्नुभएको हो ।

पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको सिर्जनशील कलाकार समूहका अध्यक्ष डीबी गुरूङले बताउनुभयो । प्रदर्शनीमा नेपाली ३३ जना र अमेरिका, अष्टे«लिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका गरी १५ जना विदेशी कलाकारले सहभागिता जनाएको उहाँको भनाइ छ ।

सात देशका कलाकारका ७० वटा कलाकृतिलाई प्रदर्शनीमा राखिएको हो । “यो प्रर्दशनी नेपाली कलाकार र उनीहरूका कलाकृतिलाई विश्वस्तरका कलाकारमाझ पु¥याउने माध्यम बन्नेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “कलाकृतिलाई बिक्रीमा राखिने भएकाले नेपाली कलाकारलाई आर्थिक रूपमा लाभ पुग्नेछ ।” प्रदर्शनी तीन दिनसम्म चल्ने छ । बिहान १० देखि ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने जनाइएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले नेपाली कला र कलाकारलाई अन्तरराष्ट्रिय रुपमा चिनाउने र कलामार्फत संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यलले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

प्रदर्शनीसँगै कलाकृतिलाई बिक्रीमासमेत राखिएको उहाँको भनाइ छ । गतवर्ष भएको प्रदर्शनीमा विदेशी कलाकारले महँगो मूल्यमा नेपाली कलाकृति खरिद गरेको उहाँले सुनाउनुभयो । प्रतिष्ठानले कला प्रवर्द्धनका कार्यक्रममा जोड दिँदै आएको प्राज्ञ सदस्य कँडेलले बताउनुभयो । राजधानी र ठूला सहरमा मात्र हुँदै आएका ललितकला सम्बन्धी कार्यक्रमलाई विकेन्द्रित गर्ने प्रयास गरिएको उहाँको भनाइ छ ।

व्यावसायिक रुपमा चित्रकला सफल विधा भएकाले नयाँ पुस्तालाई ललितकला अध्ययनमा प्रेरित गर्नुपर्ने उहाँले बताउनुभयो । दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुने आयोजक सिर्जनशील कलाकार समूह, पोखराले जनाएको छ । उक्त प्रदर्शनीमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारले सहभागिता जनाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments