काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, नव–प्रतिभाको पहिचान तथा युवाहरूको शारीरिक, मानसिक र नैतिक सशक्तीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षण थालिएको कार्यक्रम संयोजक बैभव कुँवरले जानकारी दिए ।
काभ्रेपलाञ्चोक / काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा बास्केटबल प्रशिक्षण नियमित गरिने भएको छ । जिल्लामा गठन भएको डी- टाउन बास्केटबल एकेडेमीले नियमित रुपमा प्रशिक्षण चलाउन लागेको हो ।
काभ्रे जिल्लामा बास्केटबल खेलको प्रवर्द्धन, नव–प्रतिभाको पहिचान तथा युवाहरूको शारीरिक, मानसिक र नैतिक सशक्तीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षण थालिएको कार्यक्रम संयोजक बैभव कुँवरले जानकारी दिए । उनका अनुसार, प्रशिक्षण सत्रहरू छिट्टै बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा सञ्चालन हुनेछन् । काभ्रे बास्केटबल संघको सल्लाह र सहकार्यमा सञ्चालन हुने प्रशिक्षणमा अनुभवी प्रशिक्षकहरूले नियमित र व्यवस्थित प्रशिक्षण प्रदान गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले आगामी दिनमा धुलिखेलमै व्यवस्थित बास्केटबल कोर्ट निर्माण गर्ने र खेलकुद पूर्वाधार विकासमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवनकुमार थापा, काभ्रे पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेलगायतले बास्केटबल खेल युवालाई अनुशासन, नेतृत्व र सकारात्मक जीवन दृष्टिकोण प्रदान गर्ने माध्यम बनेको भन्दै यस्ता प्रशिक्षण कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको धारणा राखेका थिए ।
काभ्रे बास्केटबल संघका अध्यक्ष शिव थापामगरले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम नभई जीवन निर्माणको विद्यालयका रूपमा अगाडि बढाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित