मधेस प्रदेश:

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउनसमेत मुख्यमन्त्री यादवले निर्देशन दिनुभयो ।

धनुषा / मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तथा कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै स्वास्थ्य उपचारमा कुनै पनि भेद्भाव नराखी स्वास्थ्य उपचारलाई दिगो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउनसमेत मुख्यमन्त्री यादवले निर्देशन दिनुभयो । जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र सहज रूपमा हुने व्यवस्था मिलाउन आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारी अस्पतालमा आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापनलाई चुस्त बनाउँदै सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिनुभयो । “जनताले समयमै गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ, त्यसका लागि सबै जिम्मेवार भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले प्रदेशभित्रका स्वास्थ्य संस्थालाई सक्षम र भरपर्दो बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सेवा सुधार, दक्ष जनशक्ति व्यवस्थापन तथा आधुनिक उपकरणको उपलब्धतालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले स्वास्थ्य सेवामा लापरबाही सह्य नहुने स्पष्ट पार्दै सेवाग्राहीमैत्री भएर काम गर्न मेसु तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभयो । मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवलगायत अधिकारीहरूले प्रदेशका अस्पतालको वर्तमान अवस्था, चुनौती र सुधारका योजनाबारे जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments