निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर / पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले आगामी निर्वाचनमार्फत संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा समर्थित उद्योगी व्यवसायीको सङ्गठन नेपाल उद्योग व्यापार महासङ्घ ललितपुरको आज यहाँ आयोजित दोस्रो जिल्ला अधिवेशनमा उहाँले जेनजी आन्दोलनमा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुपरेको र भदौ २४ गतेको विध्वंसात्मक घटनाले सङ्कट निम्त्याएको बताउनुभयो । अब सङ्कट व्यवस्थापनको उपयुक्त माध्यम निर्वाचन नै भएको उहाँको भनाइ थियो ।

“सुशासन माग गर्दै भएको आन्दोलनका क्रममा २३ गते अप्रिय घटना भयो, २४ गते विध्वंस निम्त्याइयो । त्यो विध्वंसले अर्बौंको क्षति भएको छ । त्यसबाट सबै मर्माहत छौँ । देश अर्को दुर्घटनामा पर्ने हो कि भन्न चिन्ता छ । त्यसैले सबै समस्या समाधानका लागि अब फागुन २१ को निर्वाचन नै विकल्प हो”, नेतृ भुसालले भन्नुभयो ।

उहाँले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित), महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी, महासङ्घ बागमती प्रदेशका महासचिव सन्तोष पौडेल, महासङ्घ ललितपुरका अध्यक्ष राज घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments