नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति

काठमाडौँ/ नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार एकीकरणपछि नागरिक उन्मुक्ति पार्टीका सबै संरचना र जनवर्गीय सङ्गठन नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुनेछ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आज भएको सहमतिअनुसार दुवै पार्टी एकीकृत भई नेपाली कम्युनिष्ट पार्टीको नाम र चुनाव चिह्न तारा कायम रहनेछ । सहमतिपत्रमा नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतालाई ध्यानमा राख्दै सामाजिक न्याय, समावेशिता, सुशासन र समाजवादको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

दुवै पार्टीले सर्वोच्च राष्ट्रिय हित, सार्वभौमिकता, भौगोलिक अखण्डता, महिला, दलित, थारु, मधेसी, आदिवासी, मुस्लिमलगायतका सीमान्तीकृत वर्ग र समुदायको समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।

टीकापुर घटनासँग सम्बन्धित मुद्दाहरूको निष्पक्ष अनुसन्धान र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ ।


नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण गर्ने निम्नानुसारको सहमति भएको छ :

१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सकारात्मक र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्चाउने र सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको मापदण्ड समाजवादको दिशामा अगाडि बढ्ने ।

२. मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै परिवर्तन र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट सङ्घर्ष गर्ने ।

३. समाजवादका लागि नेपालीको मौलिक बाटोको रूपमा संघीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गीकार गर्ने र त्यसको आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने ।

४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सहभागितालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने ।

५. नेपाली कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जन प्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुनेछन् ।

६. नागरिक उन्मुक्ति पार्टीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत सबैका सम्पूर्ण समितिहरू र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिस्ट पार्टीमा समायोजन गर्ने ।

७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्ट्रको सर्वोपरि हितमा संविधान संशोधन र अग्रगामी परिमार्जन गर्न पहल गर्ने ।

८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले बहिष्करणमा परेका वा पछाडिएका महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्न वर्ग पिछडिएका क्षेत्रगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्गमा, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने ।

९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिई समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने ।

१०. टिकापुर घटनाका सम्बन्धमा कुनैपनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका भ्रष्ट मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने ।

उपर्युक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुन हामी हार्दिक अनुरोध गर्दछौं ।



मिति २०८२ पुस १४
[हस्ताक्षरहरू]
रञ्जिता श्रेष्ठ
अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी

माधव कुमार नेपाल
सहसंयोजक

पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments