कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायममुकायम गर्भनर डा निलम ढुङ्गानाले राजनीतिक प्रभावले अर्थतन्त्रमा असर पार्ने कुरा स्वभाविक भएको बताउनुभयो ।
लुम्बिनी / निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी, अर्थशास्त्री, नीति निर्मातालगायतले स्वदेशी उत्पादन र उद्यमशीलताबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।
रुपन्देही उद्योग सङ्घद्वारा सञ्चालित १६औँ औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा आज आयोजित ‘समृद्ध नेपालीको आधारः स्वदेशी उद्यमशीलताको विस्तार–समस्या र समाधान’ विषयक अन्तरसंवादमा वक्ताहरूले राजनीतिक अस्थिरता, नीतिगत अन्योल, कमजोर प्रशासनिक संरचना र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण अर्थतन्त्रको अवस्था सङ्कटतर्फ धकेलिएको निष्कर्षसमेत निकालेका छन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायममुकायम गर्भनर डा निलम ढुङ्गानाले राजनीतिक प्रभावले अर्थतन्त्रमा असर पार्ने कुरा स्वभाविक भएको बताउनुभयो । उहाँले आर्थिक परिसूचक राम्रो र विदेशी विनिमय सन्तुलन ठीक देखिए पनि मुद्रास्फीति भारतभन्दा कम रहेको र राजस्व र खर्च उत्साहजनक नदेखिएको बताउनुभयो ।
“बैंक ब्याजदर न्यूनतम भए पनि बैंकमा रकम थुप्रिएको र कर्जा माग नआएको अवस्था छ । पर्यटन राम्रै छ, वैदेशिक रोजगारीले रेमिट्यान्स टिकाएको छ, जलविद्युत् उत्पादन बढ्दैछ, तर यी दीर्घकालीन समाधान होइनन्, त्यसैले बजेटभन्दा बढी अर्थनीतिमा सुधार आवश्यक छ”, डा ढुङ्गानाले भन्नुभयो ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लिराज अर्यालले प्रदेश सरकारले तथ्यमा आधारित योजना बनाएर काम गरिएको बताउनुभयो । “कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर बजेट बनाइएको छ, तर प्रदेशको दायरा सीमित छ, केन्द्र सरकारमा निर्भरता बढी छ”, उहाँले भन्नुभयो,“यस्तो अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै अनुसन्धानमूलक कार्यक्रम अघि बढाउनुपर्ने छ । सङ्घीय संरचनाप्रति रहेको वितृष्णा कम गर्नुपर्ने छ ।”
अर्थविद् डा केशव आचार्यले अर्थतन्त्र बाहिर चम्किलो देखिए पनि भित्र कमजोर रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई ‘कस्तुरीको नाभीजस्तै’ भएको संज्ञा दिँदै बाहिर सूचक राम्रो देखिए पनि अर्थतन्त्र कमजोर बनेको विषयमा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
“केही वर्षयता आयात–निर्यात सामान्य देखिए पनि उत्पादन, रोजगारी र आन्तरिक माग कमजोर अवस्थामा छ । राजनीतिक अस्थिरताले सधैँ आर्थिक वृद्धिदरमा असर गरेको इतिहास छ । जेनजी आन्दोलनपछि त्यो अझ बढ्यो”, उहाँले भन्नुभयो, “उद्यमशीलतालाई सम्मान गर्ने संस्कार नै विकास भएन । आन्दोलन हुँदा निजी क्षेत्रमाथि आक्रमण किन हुन्छ भन्ने प्रश्नमा राज्य गम्भीर हुनुपर्छ । हिजो निर्यात गरिरहेका उद्योग किन धरासायी भए भन्ने विषयमा गहिरो आत्मसमीक्षा हुनुपर्छ ।”
नेपाल उद्योग परिसङ्घका अध्यक्ष इ वीरेन्द्र पाण्डेले निजी क्षेत्रको मनोबल खस्किएको र यो सामान्य विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई हेर्ने समग्र समाजको दृष्टिकोण नै सकारात्मक छैन । राजनीतिक अस्थिरता बढ्दा मुख्य दोषी निजी क्षेत्रजस्तो व्यवहार गरिन्छ”, उहाँले भन्नुभयो ।
नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टङ्कप्रसाद पोखरेलले सरकार फेरिँदा योजना फेरिने प्रवृत्तिले निजी क्षेत्र हैरान भएको सुनाउनुभयो । उद्योग वाणिज्य सङ्घ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले स्वदेशी उत्पादन प्रयोगको कठोर नीति नआएकामा सरकार र उपभोक्ता दुवै दोषी रहेको धारणा राख्नुभयो ।
व्यवसायी मन्जु भुसालले निर्माण व्यवसायीले भुक्तानी र धरौटी रकम नपाएर ठूलो सङ्कट भोगिरहेको गुनासो गर्नुभयो । पाल्पाका उद्योगी समुद्र घिमिरेले गाउँ फर्क अभियान, रैथाने उत्पादनको ब्राण्डिङ र धार्मिक पर्यटन पुनर्जीवनको आवश्यकता औँल्याउनुभयो ।
उद्योगी निश्चल खनालले सरकारी कार्यालयमै स्वदेशी उत्पादनलाई बेवास्ता गरिने व्यवहारप्रति प्रश्न उठाउनुभयो । उद्योगी बालाराम भट्टराईले नीतिगत कमजोरीकै कारण रोजगारी र राजस्व दुवै गुम्ने अवस्था सिर्जना भएको धारणा राख्नुभयो ।
सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले अन्तरसंवादले निराशा होइन, नीति र समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको बताउनुभयो । कार्यक्रमका अन्य सहभागीहरूले स्वदेशी उत्पादन, उद्यमशीलताको सम्मान, स्थिर नीति, अन्तरनिकायगत समन्वय र कार्यान्वयनमुखी दृष्टिकोणबिना समृद्धि सम्भव नरहेको विषयमा जोड दिएको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित