स्थानीय तह र स्वास्थ्य :

वडाध्यक्षको कार्यकक्षमै ‘स्वास्थ्य क्लिनिक’

सोलुखुम्बु / जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–७ नाजिङका स्थानीय अम्बरबहादुर विश्वकर्मा आइतबार बिहानै वडा कार्यालयतर्फ जाँदा अरू दिनभन्दा फरक हुनुहुन्थ्यो । उहाँको अनुहारमा खुसी प्रष्ट झल्किन्थ्यो । उमेरले ७२ नाघिसकेका विश्वकर्माको खुसीको कारण थियो, विगतमा भन्दा नजिकै स्वास्थ्य सेवा पाउनु ।

“पहिले सामान्य बिरामी हुँदा पनि १० किलोमिटर टाढा जानुपथ्र्यो । बिरामीभन्दा बढी उकालीे–ओराली हुँदै अप्ठ्यारो बाटोमा यात्रा गर्दा पीडा थपिन्थ्यो”, उहाँले भन्नुभयो, “अब त औषधिका लागि टाढा जानुपर्ने बाध्यता सकियो । वडा कार्यालयमै सेवा पाउने भएको छ ।”

विश्वकर्मा मात्रै होइन, अब नाजिङ र गार्मा क्षेत्रका नागरिकलाई विगतको बाध्यताबाट केही भए पनि मुक्ति मिल्ने भएको छ । सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले आइतबारदेखि आफ्नै कार्यकक्षबाट स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएसँगै केही राहत हुने भएको हो । वडाध्यक्षको यो पहलले स्थानीयलाई स्वास्थ्य समस्या आइपर्दा ठूलो राहत हुने स्थानीय सोनामछोटी शेर्पाले बताउनुभयो ।

“हिमाली भूगोलका कारण आधारभूत सेवाबाट टाढा रहँदै आएका स्थानीयका लागि यो सानो देखिने पहलबाट ठूलो राहत पुग्ने छ । वडा कार्यालयमा काम लिएर आउने हरेक नागरिकले स्वास्थ्य सेवा पनि पाउन थालेपछि स्थानीय तहप्रतिको विश्वाससमेत थप मजबुत भएको छ”, उहाँले भन्नुभयो ।

सोलुखुम्बु जिल्ला समुद्री सतहदेखि करिब एक हजार २०० मिटरदेखि आठ हजार ८४८ दशमलव ८६ मिटर उचाइसम्म फैलिएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँका धेरैजसो बस्ती अझै पनि स्वास्थ्य संस्थाबाट पाँचदेखि १५ किलोमिटर टाढा रहेका छन् । विशेषगरी यहाँका वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीका लागि स्वास्थ्यचौकीसम्म पुग्नु नै चुनौतीको विषय बन्ने गरेको छ । सोलुदूधकुण्ड नगरपालिका–७ गार्माको वडा कार्यालय रहेको माथिल्लो गार्मा र सरकारी स्वास्थ्यचौकीको दूरी करिब १० किलोमिटर छ । त्यसैले यस क्षेत्रका नागरिकलाई लक्षित गरी स्वास्थ्य क्लिनिक सुरु गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

“हामी जनप्रतिनिधि भनेको कार्यालयमा बस्नका लागि मात्र होइन, नागरिकको समस्या सुन्न र समाधान खोज्नका लागि पनि हो । यहाँका नागरिक सामान्य उपचारका लागि पनि १० किलोमिटर टाढा जान बाध्य भएकाले सहज स्वस्थ्य सेवा दिन यस्तो निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो ।

क्लिनिकको प्रभावकारिताअनुसार थप व्यवस्थित गर्दै लैजाने र यसले सामान्य स्वास्थ्य समस्या हुँदा पनि टाढाको स्वास्थ्य संस्था धाउने समस्या अन्त्य गर्ने वडाध्यक्ष शेर्पाको भनाइ छ ।

उक्त स्वास्थ्य क्लिनिक हिमालयन केयर फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको वडासदस्य भलाकाजी कार्कीले बताउनुभयो । नागरिकको सुझाव र आवश्यकताअनुसार सेवाको प्रभावकारिताका लागि योजना बनाइने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments