नाका सञ्चालनमा आएसँगै ८० नेपाली केरुङ पुगे, ४ चिनियाँ नागरिक नेपाल भित्रिए

रसुवा/रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भई नाका सञ्चालनमा आएसँगै आइतबार ८० जना नेपाली केरुङ पुगेका छन् भने ४ जना चिनियाँ नागरिक नेपाल भित्रिएका छन्।

सीमापार ढुवानीमा संलग्न रसुवाका प्रवेश पास प्राप्त सवारी चालक तथा केरुङमा व्यापार गर्दै आएका जिल्लाबासी ८० जना नाका हुँदै केरुङ गएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए। उनका अनुसार चार जना चिनियाँ नागरिक भने नेपाल प्रवेश गरेका छन्।

रसुवागढीमा निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको हो। गत असार २४ गते चीनतर्फको लेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन व्यापारिक मार्गअन्तर्गत रहेको मितेरी पुल बगाएपछि दुई देशबीचको आवागमन तथा व्यापार साढे पाँच महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त स्थानमा बेलीब्रिज निर्माण सम्पन्न गरिएको हो।

हालका लागि सीमापार ढुवानीमा संलग्न रसुवाका प्रवेश पास प्राप्त सवारी चालक तथा केरुङमा व्यापार गर्दै आएका जिल्लाबासीलाई मात्र चीनतर्फ प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

नाका सञ्चालनमा आए पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने छैनन्। चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार जनवरी १, २०२६ देखि सवारी आवागमन सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।-लाङटाङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments