संस्कृतिविद् डा जगमान गुरुङले प्रधानाध्यापक सन्तोष आचार्यलाई पुरस्कार तथा अन्य सहयोग सामाग्री प्रदान गर्नुभयो
काठमाडौँ / कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ ।
समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कूल रु सात लाख ४२हजार बराबरको छात्रवृत्ति रकम, शैक्षिक सामग्री तथा पुरस्कार प्रदान गरेको हो ।
हालै आयोजित एक कार्यक्रममा संस्कृतिविद् डा जगमान गुरुङले प्रधानाध्यापक सन्तोष आचार्यलाई पुरस्कार तथा अन्य सहयोग सामाग्री प्रदान गर्नुभयो । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका प्रधानाध्यापक तथा माछापुच्छ्रे गाउँपालिकाका उत्कृष्ट प्रधानाध्यापक सन्तोष आचार्यलाई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पु¥याएको दीर्घकालीन, नेतृत्वदायी र अतुलनीय योगदानको उच्च कदर गर्दै रु पचास हजार नगद, दोसल्ला तथा सम्मानपत्रसहित विशेष सम्मान प्रदान गरिएको छ ।
सो अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शिक्षकहरूलाई विशेष सम्मान गरिएको थियो । माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङखोलाका शिक्षक एलिसा अधिकारी र सङ्गीता गुरुङ, मेघराज आधारभूत विद्यालय, घाचोककी शिक्षक सपना मिजार, तथा अन्नपूर्ण आधारभूत विद्यालय, मिर्साकी शिक्षक तिलकुमारी गुरुङलाई उत्कृष्ट शिक्षकका रूपमा जनही रु छ हजार नगद, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । शिक्षक छनोट विद्यालय, समुदाय र अभिभावकको सिफारिसका आधारमा गरिएको समितिले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले उत्कृष्ट शिक्षकहरू समुदायका साझा सम्पत्ति भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले शिक्षकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई शिक्षण पेसाप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरेका थिए ।
विसं २०५३ मा माछापुच्छ्रे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी भीम तामाङद्वारा स्थापित उक्त समितिले विगत तीन दशकदेखि विद्यार्थीको शैक्षिक उत्थान, प्रतिभा विकास र शिक्षा क्षेत्रमा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित निरन्तर सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित