जाडो बिदामा फुटबलको आकर्षण बढाउन बनेपा फुटबल एकेडेमी ‘विन्टर क्याम्प’

काभ्रेपलाञ्चोक / बनेपा फुटबल एकेडेमी, बनेपाले पहिलोपटक विद्यार्थीहरूको बिदाको समयलाई लक्षित गर्दै प्रशिक्षण क्याम्प सञ्चालन गर्ने भएको छ।

विद्यालयहरूमा जाडो विदा हुने समय पारेर यही पुस १९ गतेदेखि १५ दिनसम्म क्याम्प सञ्चालन गरिने एकेडेमीका अध्यक्ष निरोज शाक्यले जानकारी दिए।

विदाको समयमा विद्यार्थीहरू खाली बस्न नपरोस्, कुलततर्फ नजाऊन् र खेलप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले क्याम्प आयोजना गरिएको अध्यक्ष शाक्यले बताए।

क्याम्पमा ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन्। क्याम्पका लागि सहभागिता शुल्क १५ सय रुपैयाँ तोकिएको छ।

राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित माउन्ट एभरेष्ट फुटबल क्लब र बनेपा फुटबल क्लबको संयुक्त पहलमा दुई वर्षअघि बनेपा फुटबल एकेडेमी स्थापना गरिएको हो। हाल एकेडेमीमा दैनिक करिब ६० जना बालबालिकाले नियमित प्रशिक्षण लिँदै आएका छन्।

एकेडेमीका उपाध्यक्ष मनिष भोछिभोयाका अनुसार, एकेडेमीमा प्रशिक्षण लिएका खेलाडीहरू सहभागी माउन्ट एभरेष्ट फुटबल क्लब २०८१ सालको जिल्ला लिगमा पहिलो र बनेपा फुटबल क्लब दोस्रो स्थान हासिल गर्न सफल भएका छन्। साथै, २०८० सालको अण्डर–१४ खेलाडी छनोटमा एकेडेमीबाट ३ जना खेलाडी छनोट भएका थिए भने २०८१ सालको अण्डर–१६ छनोटमा ४ जना खेलाडी केन्द्रीय छनोटसम्म पुग्न सफल भएका छन्।

पत्रकार सम्मेलनमा काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठले जिल्ला फुटबल संघ र एन्फाले एकेडेमीलाई निरन्तर प्राविधिक सहयोग गर्दै आएको बताए। यस्तै, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक सहयोग गरे काभ्रेबाट राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्न सकिने धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments