‘निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ’-मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक / नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताएका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उनले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आत्मसात् गरेको भन्दै सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । “जेन जेड आन्दोलनपछि मुलुक जटिल परिस्थितिमा छ, यस्तो अवस्थामा निकासका बाटो भनेकै निर्वाचन हो । हाम्रो पार्टीले औपचारिक निर्णय गरेर निर्वाचनमा जाने भनेको छ, अब सरकारले अलमल नगरी चुनावको वातावरण बनाउनुपर्छ”, नेता बस्नेतले भने । 

उनले नेपालको संविधानले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले त्यसको नि:शुल्क व्यवस्था गरिनुपर्नेमा जोड दिए । आफूले स्थानीय जनताको आवश्यकताका आधारमा सधैँ विकासको राजनीति गरिरहेको र आगामी दिनमा पनि त्यसमा क्रियाशील रहने प्रतिबद्धता जनाए ।

पार्टीका जिल्ला सचिव भक्त ध्वज बोहराले फागुन २१ गतेको लागि घोषणा भएको निर्वाचनका लागि आयोजना गरेको सभा देशभरकै पहिलो रहेको बताए। उनले  निर्वाचनमा हार र जितभन्दा पनि जनताप्रतिको विश्वासलाई पार्टीले पहिलो प्राथमिकतामा राखेको बताए ।

महासमिति सदस्य डा. प्रेम ध्वज लामा र भोला बोहरा, नेता यास्मिन ढुंगाना,  जिल्ला उपसभापति दोर्जे लामा, पूर्व जिल्ला सभापति भूपेन्द्रबहादुर थापा, सिन्धुपाल्चोक क्षेत्र नं २ का सचिव विष्णु घोरासैनी, मेलम्ची नगर सभापति वसन्त गुरुङ, बलेफी गाउँपालिकाका पूर्वअध्यक्ष केदार क्षेत्री, नेपाल महिला संघका  केन्द्रीय सदस्य मञ्जु नेपाल भण्डारी, क्षेत्र नं १ का सचिव सञ्चवीर तामाङलगायतले आफ्नो धारणा राखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments