भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ/ तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । अगुवा किसान दलबहादुर थापाले यसवर्ष रु १६ लाखको सुन्तला बिक्री गर्नुभएको छ ।

अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएका उहाँले यस वर्ष रु तीन लाख बढी आम्दानी लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भिरालो जग्गामा अन्य खेतीभन्दा सुन्तला उपयुक्त हुन्छ भनेपछि यसलाई नै निरन्तरता दिइरहेका छौँ । बाबुबाजेले पनि सुन्तलाखेती गर्नुभयो । म पनि त्यसकै निरन्तरतामा छु ।” आफू २० वर्षदेखि यसैलाई निरन्तरता दिइरहेको उहाँको भनाइ छ ।

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि यहाँका कृषकहरु सुन्तलाखेतीमा लागेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।”

थापाले बेनीकोटमा विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या रहेको गुनासो गर्नुभयो । थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ ।

बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उहाँले भन्नुभयो, “प्रतिकेजी सुन्तला रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्याँै, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”

बेनीकोटका १०० भन्दाबढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments