काभ्रेपलाञ्चाेक /काठमाडौँ विश्वविद्यालय (केयु) को धुलिखेलस्थित परिसरमा आगामी पुस ११ गते (डिसेम्बर २६मा) भव्य रूपमा ‘आईटी मिट २०२५’ आयोजना हुने भएको छ।
काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) ले आयोजना गरेको आईटी मिट को नारा ‘कनेक्ट, कम्प्युट, क्रियट’ रहेको छ । क्लबले २ दशकभन्दा बढी समयदेखि नेपालमा प्रविधि र शिक्षाको विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।
यस वर्षको मुख्य मेलाअघि नै विभिन्न प्रि-इभेन्टहरूका कारण कार्यक्रमले व्यापक चर्चा बटुलिसकेको छ। हालै सम्पन्न ‘इम्पावर हर’ कार्यक्रममा ८० भन्दा बढी महिला सहभागिता रहेको थियो, जहाँ देवफिनिटी नेपालकी सञ्चालक निर्देशक जानकी जोशी र नेपाल टेलिकमकी पूर्व सीटीओ मिनु प्रधानले आफ्नो अनुभव साटेका थिए।
त्यस्तै, डिसेम्बर २१ मा साइबर सुरक्षा केन्द्रित ‘वी शिल्ड साइबर’ र डिसेम्बर २२ मा गेमिङ तथा आइडिया पिचिङ जस्ता प्रतियोगिताहरू सम्पन्न भइसकेका छन्। आइडिया पिचिङतर्फ ‘टिम साइन्याप्टिक’ विजेता बन्न सफल भएको छ।

साढे दुई दशकदेखि नेपालमा सूचना प्रविधि शिक्षा र विकासमा अग्रणी भूमिका खेल्दै आएको क्लबले नवप्रवर्तन, सहकार्य र सीप विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्ष ‘आइटी मिट’ आयोजना गर्दै आएको क्लबका उपाध्यक्ष किरण दाहालले बताए । उनका अनुसार, यो कार्यक्रम विद्यार्थीहरूको प्राविधिक क्षमता, नेतृत्व र सिर्जनशीलता प्रदर्शन गर्ने प्रभावकारी मञ्च हो ।
मुख्य कार्यक्रमको आकर्षणको रूपमा पुस ९ देखि ११ गतेसम्म ४८ घण्टा लामो ‘केयू ह्याकफेस्ट २०२५’ सञ्चालन हुनेछ, जसमा १६१ टोलीले आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन र आईओटी जस्ता क्षेत्रमा नवीन समाधानहरू खोज्नेछन्। यस ह्याकफेस्टको पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँभन्दा बढी रहेको छ।
पुस ११ गते हुने मुख्य दिनको कार्यक्रममा विद्यार्थीहरूले बनाएका हार्डवेयर र सफ्टवेयरहरूको प्रदर्शनी, ११ भन्दा बढी कम्पनीहरूको उपस्थितिमा हुने करिअर फेयर, सरकारी र औद्योगिक क्षेत्रका विज्ञहरू सम्मिलित प्यानल छलफल, तथा अन्तर-विद्यालय आईटी क्विज आयोजना हुँदैछ ।
कार्यक्रमको समापन साङ्गीतिक प्रस्तुतिका साथ ‘एकुस्टिक नाइट’ बाट गरिने आयोजकले जनाएको छ। समग्र प्रतियोगिताहरूको कुल पुरस्कार राशि ३ लाख ७० हजार रुपैयाँभन्दा बढी रहेको छ।
यस महोत्सवलाई अल्पेन ल्याब्स र डी एण्ड एस इंकले मुख्य प्रायोजन गरेका छन् भने बनेपा नगरपालिकाले सहयोगी संस्थाको रूपमा साथ दिएको छ। उच्च माध्यमिक तहदेखि उद्योग क्षेत्रका व्यावसायिक व्यक्तिहरूलाई एउटै थलोमा ल्याउने यस कार्यक्रमले नेपालको डिजिटल पुस्तालाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित