काठमाडौं/ कृषि उत्पादनको बजारीकरण र सहकारीमार्फत लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एकदिने अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय सहकारी विकास बैंक र उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा ६ मंसिर २०८२ मा “कृषिमा सहकारीको लगानी र कृषि उत्पादनहरूको बजारीकरण” विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरेलले उत्पादन भएका वस्तु बजारसम्म पुर्याउँदा ढुवानी, मूल्य निर्धारण र बिक्री मूल्यबीच सन्तुलन नहुनु मुख्य समस्या रहेको बताए। किसानले उचित मूल्य नपाउँदा कृषि पेशाप्रति आकर्षण घट्दै गएको र बीचौलियाको प्रभाव बढिरहेको उल्लेख गर्दै उनले किसानले तोकिएको मूल्य पाउने स्पष्ट र प्रभावकारी संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अतिथि कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले किसानले अझै सहज रूपमा कर्जा पाउन कठिनाइ भोगिरहेको बताए। सहकारीले समयमा ऋण उपलब्ध गराउन सके कृषि क्षेत्रको विकासमा ठोस सहयोग पुग्ने उनको भनाइ थियो। उनले स्थानीयस्तरमा कृषि वस्तु ओसारपसार गर्दा शुल्क नलगाउने सरकारको परिपत्रले उत्पादन लागत घटाउन मद्दत पुगेको जानकारी गराए।
साथै, दर्ता प्रक्रिया सरलीकरण र समयमै सेवा उपलब्ध गराउने दिशामा सरकार सक्रिय रहेको बताउँदै सार्वजनिक–निजी–सहकारी साझेदारीमार्फत पूर्वाधार विकासमा सहकार्य आवश्यक रहेको धारणा राखे।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख जगनाथ तिवारीले कृषि नीतिहरू समयसापेक्ष बनाउन सबै सरोकारवालासँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताए।
खुला सीमाका कारण नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै उनले बढ्दो आयात प्रतिस्थापनका लागि सहकारीमार्फत किसानलाई सहज कर्जा प्रवाह आवश्यक रहेको बताए। स्वदेशमै उत्पादित वस्तुको खपत बढाउन सहकारीको प्रभावकारी भूमिका अपरिहार्य रहेको भन्दै आवश्यक नीतिगत सुधारका लागि सुझाव दिन आग्रह गरे।
कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले सहकारी क्षेत्रमा बढ्दो तरलतालाई कृषि उत्पादनमा लगानी गर्न उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। केन्द्रले कृषि क्षेत्रका नीतिगत बहस र पैरवी निरन्तर गर्दै आएको उल्लेख गर्दै बजार र बजारीकरणमा सहकार्य गर्न तयार रहेको जानकारी गराए।
त्यस्तै, कृषि उद्यम केन्द्रका सहसभापति तथा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले उपलब्ध तरलतालाई सही स्थानमा परिचालन गर्न सके उत्पादन उल्लेख्य रूपमा बढाउन सकिने बताए। पहाडी क्षेत्रमा अमलिसो खेतीको सम्भावना औंल्याउँदै यसले पशुपालनका लागि घाँस उत्पादन र पशुजन्य उत्पादन वृद्धि गर्ने बताए।
छिमेकी देश भारत र बंगलादेशमा ठूलो मात्रामा कुचो आयात भइरहेको तथ्य प्रस्तुत गर्दै बजारको समस्या नरहेको र सहकारीमार्फत निर्यातमुखी उत्पादनमा लगानी गर्न सकिने धारणा राखे। साथै, १६ जिल्लामा व्यवसायीक रूपमा भइरहेको अलैंची खेतीमा सहकारीको लगानीले तरलताको सही व्यवस्थापन हुने बताए।
कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. प्रध्युम्न राज पाण्डे, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, एग्री नेपालकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेहाफुकी, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाई, आँटी नेपालका अध्यक्ष खोजराज कटुवाल, निर्यात व्यवसायी महासंघका उपाध्यक्ष किरण कुमार डंगोल, डिल्लीराज बाँसकोटा, बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रेका विवेकराज ठकुरीलगायत विभिन्न जिल्लाबाट आएका सहकारीकर्मीहरूले कृषि क्षेत्रका समस्या, तरलता व्यवस्थापन, बजार र बजारीकरण, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, मूल्य निर्धारण, व्यवसायीक खेती, स्वदेशी उत्पादन प्रवर्द्धन, एक जिल्ला एक उत्पादन अवधारणा तथा सहुलियत ब्याजदरको कर्जाको आवश्यकता बारे आफ्ना धारणा राखेका थिए। साथै सरोकारवालाबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा सहभागीहरूको जोड थियो।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले गरेका थिए। गोष्ठीमा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीले नेपालमा कृषि क्षेत्रको अवस्था र समृद्धिका सम्भावनाबारे प्रस्तुति दिएका थिए भने राष्ट्रिय सहकारी विकास बैंकका रदिप चौहानले बैंकद्वारा कृषि विकासका लागि गरिएका प्रयासहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा बचत तथा ऋण सहकारीका प्रतिनिधिहरूले कृषि क्षेत्रमा गरेका उल्लेखनीय कामको पनि चर्चा गरिएको थियो। गोष्ठीमा ५२ जनाको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित