१५ वर्षपछि काभ्रेमा ‘सुन्तला हाइकिङ’ को पुनरागमन, होटल एशोसिएशन काभ्रेले ब्युँतायो पुरानो प्याकेज

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोक जिल्लाको कृषि र पर्यटनलाई जोड्ने उद्देश्यका साथ १५ वर्षको लामो अन्तरालपछि ऐतिहासिक ‘सुन्तला हाइकिङ’ पुनः सञ्चालनमा आउने भएको छ । यस पटक परीक्षण र प्रवर्द्धनका रूपमा आयोजना गर्न लागिएको हो ।

होटल एशोसिएशन अफ नेपाल (हान) काभ्रे च्याप्टरको आयोजना र धुलिखेल नगरपालिका पर्यटन परिषद्को विशेष सहयोगमा यो कार्यक्रम फेरि सुरू हुन लागेको हो । यसमा नेपाल युवा उद्मी मञ्च, काभ्रे च्याप्टर र रोटरी क्लब अफ धुलिखेलले सहकार्य गरेका छन् ।

डेढ दशकअघि अत्यन्तै लोकप्रिय रहेको यो हाइकिङ विविध कारणले रोकिएको थियो । सन् २०१० को नोभेम्बर २७ मा नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशीला (नेटिफ) को आयोजनामा नेपाल पर्यटन बोर्डको सहयोगमा नमोबुद्ध–बल्थली ‘सुन्तला हाइकिङ’ आयोजना गरेको थियो । त्यतिखेरको हाइकिङ सम्झनेहरूले यसको निरन्तरता नभएको गुनासो गर्दै आएका थिए ।

Lahachhap
सन् २०१० मा नेटिफको आयोजनामा भएको नमोबुद्ध–बल्थली ‘सुन्तला हाइकिङ’: फोटो-अरुण श्रेष्ठ
Lahachhap
सन् २०१० मा नेटिफको आयोजनामा भएको नमोबुद्ध–बल्थली ‘सुन्तला हाइकिङ’मा पर्यटक: फोटो-अरुण श्रेष्ठ
Lahachhap
सन् २०१० मा नेटिफको आयोजनामा भएको नमोबुद्ध–बल्थली ‘सुन्तला हाइकिङ’: फोटो-अरुण श्रेष्ठ
Lahachhap
सन् २०१० मा नेटिफको आयोजनामा भएको नमोबुद्ध–बल्थली ‘सुन्तला हाइकिङ’: फोटो-अरुण श्रेष्ठ

यस पटक होटल एशोसिएशन अफ नेपाल (हान) काभ्रे च्याप्टरको अधिवेशन पाँच वर्षपछि आयोजना भयो । नयाँ कार्यसमितिका अध्यक्ष एवं सारथी होटल लिमिटेडका प्रबन्ध निर्देशक प्रह्लाद प्याकुरेलले जिल्लामा प्रचुर मात्रा सुन्तला खेती हुने भएकाले यसै सिजनमा नयाँ स्वरूपमा ‘सुन्तला हाइकिङ’ ब्युँताउने जमर्को गरेको छ ।

‘हामीले १५ वर्ष अघि भव्य रूपमा सम्पन्न भएको र औधी रूचाइएको ‘सुन्तला हाइकिङ’ लाई फेरि ब्युँताएका छौं’, ’ प्याकुरेलले भने, ‘यसले काभ्रेको पर्यटनलाई मात्र नभई स्थानीय सुन्तला खेतीकोप्रवर्द्धनमा पनि ठूलो टेवा पुर्‍याउनेछ । यसबाट कृषिमा आधारित पर्यटनलाई समेत बढावा दिनेछ’’ उनले थपे ।


यो पदयात्रा मुख्यतया काभ्रेको पर्यटकीय क्षेत्र नमोबुद्धबाट बल्थलीसम्म चल्नेछ । पदयात्रीहरूले पहेँलपुर पाकेका सुन्तला बगैँचाहरूको दृश्य हेर्दै यात्रा गर्न पाउनेछन् । स्थानीय किसानका बोटबाटै ताजा सुन्तला खान पाउनेछन् ।

Lahachhap

नमोबुद्धको धार्मिक वातावरण र बल्थलीको प्राकृतिक सुन्दरताको अनुभव लिन सक्नेछन् । यात्राकै वीचमा लड्केश्वर महादेव स्थानमा रहेको विश्वकै अग्लो त्रिशूललगायत त्यहाँ भइरहेका धार्मिक पर्यटकीय विकासबारे अवलोकन हुनेछ ।

हान काभ्रेका अनुसार यस पटकको हाइकिङमा उल्लेख्य संख्यामा पर्यटन व्यवसायी, प्रकृतिप्रेमी र सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । क्रिसमसको बिदाको दिन भएकाले पैदल यात्रामा पर्यटन व्यवसायी, उद्योगी, जनप्रतनिधि, सञ्चारकर्मी, कन्टेन्ट क्रियटरहरू, जिल्लास्थित सुरक्षा संयन्त्रका प्रमुखहरू, ट्र्राभल एजेन्सी लगायत कृषिसम्बद्ध पदाधिकारीहरू गरी १ सय जनाको सहभागिता रहनेछ ।

Lahachhap

हानका अध्यक्ष प्याकुरेल भन्छन्, ‘यस पटकको प्रवर्द्धनात्मक ‘सुन्तला हाइकिङ’ को समीक्षापश्चात अर्को वर्ष देखिको सुन्तला सिजन (नोभेम्बर र डिसेम्बर) मा एक महिनाकै ट्राभल प्याकेज बनाउने लक्ष राखेका छौं । यसमा होटल रिसोर्टका ट्यारिफमा विशेष छुटका साथै अन्य आकर्षणहरू पनि थप्ने योजनामा छौं । आगामी वर्षदेखि सुन्तला सिजनमा कम्तमिा पनि १ हजार जना पर्यटकहरू काभ्रेमा आउने र ‘सुन्तला हाइकिङ’ मा रमाउने अपेक्षा राखेका छौं’’ उनले भने ।

यस कार्यक्रमले काभ्रेका स्थानीय होटल रिसोर्ट, होमस्टे र कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखेको छ । पदयात्राले आन्तरिक तथा बाह्य पर्यटकलाई ग्रामीण जीवन र उत्पादनसँग जोड्ने विश्वास गरिएको छ । हाल काभ्रे जिल्लामा हानमा आवद्ध स्तरीकृत होटल तथा रिर्सोट ३२ वटा छन् । सानातिना गरी अन्य डेढ सय होटल छन् ।

होटेल एसोसियन अफ नेपाल काभ्रे च्याप्टरको अध्यक्षमा केही महिना अघि निर्वाचित हुनु भएका होटल सारथी लिमिटेडका प्रबन्ध निर्देशक यस व्यवसायमा आउनु अघि पनि जिल्लाको पर्यटन प्रवर्द्धनका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत क्रियाशील हुनुहुन्थ्यो । उहाँकै अगुवाई त्यतिबेलै जिल्लाको पर्यटकीय प्रोफाइल, पर्यटकीय गन्तव्य पहिचान, पर्यटक सूचना केन्द्रको स्थापना लगायतका धेरै कार्यहरू भएका थिए ।

Lahachhap

अहिले त आफैं पर्यटन उद्योगमा आवद्ध भएपछि प्याकुरेलको दैनिकी भनेकै कसरी काभ्रे जिल्लालाई उपत्यका नजिकैको पर्यटकीय गन्तव्यका रूपमा चिनाउने रहेको छ । पुसको पारिलो घाममा सारथी रिसोर्टबाट दन्तलहरझैं खेलेका हिमश्रृंखला देखाउँदै उहाँले धेरै अन्तरालपछि यो वर्ष यो सिजनमा यसरी हिमाल खुलेको बताउनु भयो ।

उहाँको भावी चिन्ता थियो, ‘पर्यटक आउने सिजनमा यसरी खुलेका हिमाल देखाउन नसके आगामी वर्षहरूमा हामी पर्यटन व्यसायीले धुलिखेल र काभ्रेमा उनीहरूलाई के देखाएर बसुँ बसुँ भन्ने बनाउने? अब पनि हिमालमात्रै देखाएर पर्यटक ल्याउन सकिन्न । त्यही भएर हरेक महिना केही न केही पर्यटकीय गतिविधिहरूमार्फत हाम्रा गन्तव्यहरू प्रवर्द्धन गर्न आवश्यक छ । ‘सुन्तला हाइकिङ’ जस्तै, स्थानीय चाडवाड, खाना महोत्सव, साहसिक खेलहरूलगायतले पर्यटकलाई आकर्षित गर्ने योजना बनाइरहेका छौं’’ प्याकुरेलले थप्नु भयो ।

स्वास्थ्य शहर, बालमैत्री शहर, पर्यटकमैत्री शहर, स्वच्छ पानीको शहर, स्वास्थ्य र शिक्षाको शहरको पहिचान बोकेकाले धुलिखेलको प्रर्वद्धन भइरहेको छँदैछ । यसलाई अझ व्यापकता ल्याउनुका साथै जिल्लाका सबै स्थानीयहरूमा रहेका गन्तव्यलाई समेत उजागर गर्ने योजनामा हान काभ्रे क्रियाशील हुन थालेको छ ।

उहाँ भन्नुहुन्छ, ‘जिल्लाका सबै पालिका प्रमुख र पदाधिकारीहरूसँग समग्र काभ्रे जिल्लाकै पर्यटन प्रवर्द्धनका लागि कार्यशनला आयोजना गर्दैछौं । यतिखेर धुलिखेल, पनौती–बल्थली नमोबुद्ध, नगरकोट–नाल्दुम क्षेत्र पर्यटकीय रोजाईमा रहेको छ र प्रवर्द्धन पनि भइरहेको छ । अब बेथानचोकमा रहेको नारायणस्थान, तीनतले झरना र महाभारत टे्र्रकिङ टे्र्रल प्रवद्र्धन गर्न जरूरी छ । रोशीको झरना, भुम्लुको भीमसेनस्थान, पाँचखालको पलाञ्चोकलगायत जिल्लाका हरेक स्थानीय तहमा रहेका पर्यटकीय सम्भावनाहरूको अध्ययन गराउँदैछौं’, प्याकुरेलले योजना सुनाउनु भयो ।

पछिल्लो समय धुलिखेलको पिपलबोट चौतारादेखि काभ्रे भन्ज्याङङम्मको बाटोलाई रिसोर्ट मार्ग नामकरण गरिएको छ । हाललाई पिपलबोट चौतारादेखि सनराइज चोकसम्मको बाटोमा फुटपाथ, सडक बत्ती र हरियाली बनाउन सुरू भएको छ ।

प्रदेश सरकार तथा धुलिखेल नगरपालिकाको सहयोगमा बाटो पीच गर्ने र पहिरो व्यवस्थापनका कार्यहरू भइरहेको छ । प्रदेश सभा सदस्य तीर्थ लामाको पहलमा बागमती प्रदेश सरकारबाट ५५ लाख रूपैँया बजेट विनियोजन भइ काम अगाडि बढ्दैछ । यहाँका पर्यटन उद्योगीहरूले यसबाट पर्यटन क्षेत्र आकर्षक, पहुँचयोग्य र सबैलाई सहज हुने अपेक्षा गरेको पाइन्छ ।

हान काभ्रेले छिमेकी सिन्धुपाल्चोक हानसँग समन्वय गरेर यहाँ आएका पर्यटकहरूलाई बन्जी, राफिटङलगायतका सहासिक खेलहरूमा समेत प्याकेज बनाउन लागेको छ । ‘हामी हान सिन्धुपाल्चोकसँग सम्झौताका लागि चरणवद्ध छलफलमै छौं’’ प्याकुरेलले भन्नुभयो ।

Lahachhap

धुलिखेल र काभ्रेपलाञ्चोक जिल्लाको पर्यटन प्रवर्द्धनमा हिजोका दिनमा यहाँका पर्यटन उद्योगीहरूले आ–आफ्नो तहबाट काम गर्दै आएको पाइन्छ । अब भने प्याकुरेल र उहाँको टीम संस्थागत रूपमै पर्यटन प्रवर्द्धनमा लागेको छ ।

‘नेपाल प्रहरीसँगको समन्वयमा धुलिखेलमा पर्यटक प्रहरीको व्यवस्थाका लागि दरबन्दीसहितको प्रहरी ल्याउन पहल भइरहेको छ । हानको कार्यालय स्थापना भइ सचिवालय व्यवास्थित बनाइएको छ । विगतमा सुरू भइ फेरि स्थगन भएको पर्यटक सूचना केन्द्रलाई सञ्चालनमा ल्याउँदैछौं । अबको मेरो अर्जुनदृष्टि भनेकै धुलिखेललगायत प्रवर्द्धन भइरहेका पर्यटकीय गन्तव्यहरूलाई अझ आकर्षक बनाउनु र नयाँ गन्तव्य पहिचान गर्दै जिल्ला आउने पर्यटकहरूको बसाइ लम्ब्याउनु रहेको छ’ प्याकुरेलले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments