धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह

गण्डकी/ हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ । यिनै उत्तरबाहिनी गङ्गाको मुहानमा रहेको उत्तरगङ्गा ढोरबराह यस क्षेत्रकै महत्वपूर्ण तीर्थका रुपमा चासो र चर्चा कमाएको छ ।

उत्तरगङ्गा धामका रुपमासमेत चिनिएको यो तीर्थस्थलमा विशेषतः जनैपूर्णिमा र वैशाख शुल्क पूर्णिमा दिन विशेष मेला लाग्ने गरेको मन्दिरका पूजारी चामबहादुर बुढाले जानकारी दिनुभयो । उत्तरतर्फ भई बग्ने उत्तरगङ्गा नदीको मुहान नै उत्तरगङ्गा ढोरबराह भएको जानकारी दिँदै उहाँले यहाँ आएर दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको बताउनुभयो ।

यस स्थलमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमाका दिन मेला भर्न बागलुङसहित पर्वत, म्याग्दीलगायत जिल्लाका साथै कास्की, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थीहरू आउने गरेका छन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्दै आएको उहाँले जानकारी दिनुभयो । मेलामा सहभागी बन्नका लागि आउने भक्तजनले ढोरबराहमा पूजा गर्नुअघि यहाँ आउने बाटोमा रहेको रुद्रावती गङ्गाको उद्गमस्थल रुद्रतालमा स्नान एवम् पूजा गर्दै ढोरपाटन देउरालीमा पाती चढाएर जाने प्रचलन छ ।

यहाँ बर माग्ने पनि अनौठो मौलिक परम्परा छ । उत्तरगङ्गा ढोरबराहमा बर माग्न आउनेहरू सबैभन्दा पहिले रुद्रतालमा र त्यसपछि देउराली भञ्ज्याङमा रहेको देउराली थानमा धजा चढाउने गर्दछन् । त्यहाँबाट आएर यहाँका बाइस धारामा नुहाएर बराह मूलमा गएर बत्ती बालेर फूलपाती, अक्षताले भगवान शिवको बाहन बहरे गोरुलाई पूजा गरी २२ वटा ध्वजा चढाउँछन् । “यहाँ आएर दर्शन गरेमा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, नबोलेका बच्चा बोल्ने आदि विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “रोजगारी प्राप्ति, राम्रो स्वास्थ्य आदिको कामना गर्दै पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।”

पूजा गर्ने क्रममा बराहमूलको कुण्डमा बुलबुल गरेर पानीका फोका उठेमा राम्रो भएको मानिने फोका नउठेमा ग्रहदशा बिग्रेको मानिने जनविश्वास छ । ढोरबराह मन्दिरमा रहेका बाइस धारा कहिल्यै पनि नसुक्नु यहाँको अर्को विशष्टिता हो् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास रहेको पूजारी बुढाले जानकारी दिनुभयो । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगङ्गामा बगाउने प्रचलन पनि रहेको बुढापाकाहरु बताउँछन् ।

पछिल्लो समयमा ढोरपाटनसम्म आउने बाटो सहज बन्दै गएपछि टाढाटाढाबाट दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य रामबहादुर घर्ती मगरले जानकारी दिनुुभयो । पछिल्ला दुुई तीन वर्षयता दर्शनार्थी तथा पर्यटक आउने क्रम बढिरहेको बताउँदै उहाँले स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको जानकारी दिनुभयो । “दर्शनार्थीसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि आउन थालेपछि यहाँका स्थानीयले पर्यटक लक्षित होटेल तथा घरबासका लागि पनि लगानी बढाउँदै गएका छन्”, ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालकसमेत रहनुभएका मगरले भन्नुुभयो, “पर्यटकीय चहलपहलले स्थानीयवासीको उत्पादन खपत हुनुुका साथै यसले विभिन्न किसिमका रोजगारीसमेत सिर्जना गरेको छ ।”

नेपालको एक मात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन शिकार आरक्षभित्र रहेका कारण पनि यो पर्यटकीय रुपमा अर्को आकर्षण हो । ठूलो उपत्यकाको दक्षिणतर्फ अवस्थित सुर्तिवाङ पहाडको उत्तरतर्फबाट उत्तरगङ्गाको र दक्षिणपट्टी रहेको रुद्रतालबाट रुद्रवतीगङ्गाको उत्पत्ति भएका कारण समग्र यस क्षेत्रको धार्मिक महत्व रहेको छ । रुद्रतालमा सतिदेवीको रुद्र अर्थात घाँटी पतन भएको हुँदा रुद्रतालबाट जलप्रवाह भएर रुद्रबतीगङ्गा, बडिगाड खोलाहुँदै कालीगण्डकीमा मिसिएको ठाउँलाई रुद्रवेणी अर्थात् रुरुक्षेत्रका रुपमा लिने गरिएको अर्का स्थानीय बेगबहादुर विकले जानकारी दिनुभयो ।

सुर्तिवाङ पहाडको देउराली भञ्ज्याङमा रहेको ठाडो ढुङ्गामा साउनको पहिलो हप्ता गाईको दूधले धार दिएपछि मात्रै बर्खाको समयमा सुर्तिवाङ्मा चरनको लागि लगेका गोठमा खिर, कुराउनी र ताईरोटी पकाउने प्रचलन रहेको स्थानीयवासी बताउँछन् । उत्तरगङ्गा ढोरबराहमा यहाँको पूजाआजाको व्यवस्थापनका लागि प्रत्येक वर्ष बोलपत्र आह्वान गर्ने गरेको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य घर्तीले जानकारी दिनुभयो ।

पूजाका लागि जिम्मा पाएको व्यक्तिले मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले चढाउने भेटीघाटीका साथै भेडाको बलि दिने क्रममा टाउँको बिक्रीबाट आम्दानी गर्ने गर्दछन् । सामान्यतः जनैपूर्णिमाका दिन एक हजारभन्दा बढी भेडाको बलि हुने गर्दछ भने वैशाख पूर्णिमामा पाँच सय भन्दा बढी भेडाको बलि हुने गर्दछ । अघिपछि पनि विभिन्न तिथि पारेर भाकलसहित पूजाआजा गर्न दर्शनार्थी आउने गर्दछन् ।

मालपोत कार्यालयले प्रत्येक वर्ष जेठको १५ गतेदेखि ३० गतेसम्म समयावधि तोकेर बढाबढका लागि सूचना निकाल्ने गरेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षमा बढाबढका क्रममा रु १२ लाखको बोलपत्र स्वीकृत भएको थियो । मन्दिरको संरक्षणसँगै पछिल्ला समयमा यहाँको भौतिक पूर्वाधार विकासका लागि पनि राज्यको चासो बढेको उहाँले जानकारी दिनुभयो । मन्दिर परिसरमा जलकुण्डसहित पार्क निर्माणका साथै पाटनका ठाउँठाउँमा परम्परागत शैलीका पुल निर्माण भइरहेको उहाँले बताउनुभयो ।

उत्तरगङ्गा ढोरबराहको धार्मिक महत्वका विषयमा विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार परापूर्वकालमा एकजना निकै चलाख र बुद्धिमान कागभुसुण्डी नाम गरेका ऋषि कागको रूपधारण गरेर उत्तरगङ्गा ढोरबराहमा आई तपस्या गरी बसेका थिए । तपस्याको क्रममा उनी भगवान शिवको सम्पर्कमा बसेका थिए र एक दिन भगवान शिवले माता पार्वतीलाई रामकथा सुनाउँदा उनले पनि सुनेका थिए ।

वशिष्ठ ऋषिले राजा रामलाई यही पुण्यभूमिमा आएर कागभुसुण्डीसँग शिक्षा लिएमा तिमी धर्म, अर्थ, काम, क्रोधबाट मोक्ष हुनेछौँ भनी बताएका थिए । कागभुसुण्डी ऋषिले यहाँ र मुक्तिनाथ दुवै ठाउँमा तपस्या गरी बसेको भन्ने शास्त्रहरुमा उल्लेख गरेको हुँदा मुक्तिनाथ र उत्तरगङ्गा ढोरबराह दुई दाजुभाइ हुन् भन्ने लोकोक्ति पनि रहेको छ । त्यस्तै यहाँको अर्को लोकोक्ति बलि राजासँग जोडिएको छ । बलि राजाले म स्वर्गको राजा हुन पाउँ भनी १२ वर्ष तपस्या गरेका थिए । उनको तपस्या असार मसान्तका दिन पूरा हुँदै थियो तर भगवान विष्णुले उनलाई स्वर्गको राजा हुनबाट रोक्न तपस्या भङ्ग गरी दिए । उनले बलि राजालाई तिमिलाई स्वर्ग मिल्दैन तर स्वर्ग जस्तै सुन्दर ठाउँ मिलाई दिन्छु भनि ढोरपाटनमा ढकमक्क फुल फूलेको समय जनैपूर्णिमाको दिन पारेर बराहको रूपमा प्रकट गराएका थिए भन्ने उल्लेख छ ।

बलि राजाको कठोर तपस्याले गर्दा उत्तरगङ्गा ढोरबराहको उत्पत्ति भएको हो भन्ने धार्मिक विश्वास छ । अर्को तेस्रो लोकोक्ति बहर गोरूसँग सम्बन्धित छ । यहाँको देउराली भञ्ज्याङ्मा सुप्राङको लाटीबराहबाट आएको बहर गोरू र उत्तरगङ्गा ढोरबराहबाट गएको बहर गोरु दुईतर्फ भएर जुँधेछन् । जुध्दै जाँदा लाटीबराहको बहर गोरु हारेर फर्केछ भने ढोरबराहबाट गएको बहरे गोरु जितेर फर्केछ । बहरे गोरु जुँध्दा जमिन भत्केको हुँदा देउराली भञ्ज्याङ बन्न पुग्यो भन्ने किम्बदन्ती रहेको छ । जितेर फर्केको बहर गोरुसँग बर माग्दा बर दिने गरेको हुनाले ढोरबराह भनिएको भन्ने कथन पनि सुन्न पाइन्छ ।

उत्तरगङ्गा ढोरबराहको थानमा भेडाको साँढलाई बराह देवताको प्रतीक मानेर बलि दिने गरिन्छ । मन्दिरका पूजारी चामबहादुर बुढाका अनुसार यहाँ उत्तरतर्फ फर्केका तीन वटा पानीका मूल रहेका छन् । यी मूलको नाम बराह मूल, सातमूले मूल र अपूता मूल हो । सातमूले मूललाई उत्तरगङ्गा मूल पनि भनिन्छ । उत्तरगङ्गा नदीको उद्गमस्थल यिनै मूल हुन् । यहाँ सातमूले मूलबाट निस्केको पानीबाट २२ धारा बनाइएको छ । बराह मूलभित्र रहेको जुरो पलाएको, कपाल गजुल्टो परेको र खुट्टा नभएको बहर गोरुलाई पूजा गर्ने र बर माग्ने गरिन्छ । बर मागेमा बर दिने भएकाले बहर गोरुलाई बराह भनिएको हो भन्ने भनाइ रहेको छ । छोरा नहुने दम्पत्तिहरु यहाँ आएर छोराको बर माग्ने गर्दछन् ।

यहाँ आउनेहरू उत्तरगङ्गा मूलका २२ धारामा नुहाउने गर्दछन् । त्यसपछि बराह मूलमा गएर बत्ती बालेर फूलपाती, अक्षताले बहर गोरूलाई पुज्ने र २२ वटा ध्वजा चढाउने गरिन्छ । उत्तरगङ्गा ढोरबराहसँगै यहाँको विशाल फाँट अवलोकन गर्न पछिल्ला समयमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको विगत लामो समयदेखि घोडचढी व्यवसाय गर्दै आउनुभएका डेगबहादुर कामीले जानकारी दिनुभयो । ढोरपाटन आएका पर्यटकले होटेल तथा घरबासबाट घोडामा चढेर ढोरबराहको दर्शन गर्न जानुका साथै यहाँको फाँटमा घुम्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यवसायीले घोडा चढाएबापत १५ मिनेटको दुई रुपैयाँसम्म लिने गरेका छन् भने माथि दखर्कसम्म पुर्‍ याएको तीन हजार ५०० रुपैयाँसम्म लिने गर्दछन् । पर्यटकका कारण घोडचढी व्यवसाय यहाँका स्थानीयको रोजगारीका लागि राम्रो विकल्प बनेको उहाँको भनाइ छ ।

उत्तरगङ्गा ढोरबराहसहित समग्र ढोरपाटन पर्यटकीयरुपमा धेरै सम्भावना बोकेका स्थान भएका कारण यहाँ पुग्नका लागि बन्दै गरेका बाटो यथाशक्य चाँडो निर्माण सक्नुपर्ने नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दाहालले बताउनुभयो । एनटिभिए गण्डकी प्रदेशले ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै यहाँका सम्भाव्यता बारेस्थलगत अवलोकन गर्न हालै पोखराका पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायी एवम् प्रतिनिधिको सहभागितामा प्रवद्र्धनात्मक भ्रमणसमेत गरेको उहाँले जानकारी दिनुुभयो । “प्रवद्र्धनात्मक भ्रमणका क्रममा हामीले यहाँको पर्यटकीय विकासका धेरै सम्भावना रहेको पायौँ”, उहाँले भन्नुभयो, “ढोरपाटनको विशिष्ट भूगोलसँगै यहाँको उत्तरगङ्गा ढोरबराहलाई गण्डकी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।”-वासुदेव पौडेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments