राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे

यदि फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने भनाइ उहाँको थियो ।

कास्की / गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको आज पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताउनुभएको हो ।

यदि फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिएन भने देशमा ठूलो राजनीतिक सङ्कट निम्तने भनाइ उहाँको थियो । राजनीतिक स्थिरताले मात्र देशमा उद्योग व्यवसाय फस्टाउनुको साथै रोजगारी सृजना र राजस्वसमेत वृद्धि भई देशको अर्थतन्त्र बलियो हुने भनाइ उहाँले थियो ।

प्रदेश सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वातावरण सृजना गर्ने र उद्योग व्यवसाय सञ्चालन र विकासमा प्रदेशका कुनै ऐन कानुन बाधक भए ती ऐन कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशमा उद्योग व्यवसाय स्थापना गर्न पोखराको लेखनाथस्थित पुडिटार र नवलपुरमा जग्गा प्राप्तिका लागि गण्डकी प्रदेश सरकारले आफ्नो योजना अगाडि वढाएको बताउँदै उहाँले गण्डकी प्रदेशमा उद्योग, पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको उहाँले बताउनुभयो ।

युवालाई विदेश पलायनबाट रोक्न नयाँ कामको सृजना गर्नुपर्नेमा जोड दिँदै उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदेश सरकार अगाडि बढ्ने भनाइ उहाँको छ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकार घरेलु मदिरालाई ब्राण्डिङ गरी सकिएको र गाँजालाई पनि घरेलु औषधिका रुपमा प्रयोगमा ल्याउने तयारीका साथ सरकार अगाडि बढेको भनाइ उहाँको छ ।

गण्डकी प्रदेशको मुस्ताङ र तिब्वत जोड्ने कोरला नाकाले तिब्बत र यस क्षेत्रको व्यापार व्यवसायमा ठूलो महत्व राख्ने हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र बलियो बनाउन थप मद्दत पुग्ने भनाइ उहाँको छ ।

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले देशमा भएका विभिन्न घटना क्रमले उद्योगी व्यवसायको मनोबल खस्केको हुँदा उनीहरुको मनोबल उचो बनाउन सर जोड दिनुभयो । त्यसैगरी गण्डकी प्रदेशमा वन तथा वातवरणमन्त्री भेषबहादुर पौडेलले निजी क्षेत्रबिना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रलाई अगाडि बढाउन सकेको खण्डमा देशको अर्थतन्त्र बलियो हुने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रम लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव यही पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित सञ्चालन गरिएको छ ।

रु नौ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवका प्रचारप्रसार व्यवस्थापन संयोजक ध्रुवबाबु भट्टराईले बताउनुभयो । महोत्सवबाट रु ९५ लाख खर्च आम्दानी र रु ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान छ ।

महोत्सवबाट हुने बचत रकमबाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशीलता विकास, औद्योगिक क्षेत्र निर्माणका लागि पहल, पर्यटन प्रवर्द्धनसहित सामाजिक उत्तरदायित्वका क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवका आकर्षणका रुपमा औद्योगिक व्यापार मेला, स्थानीय कला संस्कृतिको प्रदर्शन, हस्तकलाका सामग्री, सूचना प्रविधि तथा सञ्चारका उपकरण, अटोमोबाइल, वित्तीय संस्थाको सेवा तथा जानकारी दिने स्टलहरु राखिएका छन् ।

स्थानीय रुपमा उत्पादित माछा, मह, सुन्तला, कफी, ताजा तरकारी, दुग्धजन्य उत्पादन, कन्सर्ट, दोहोरी गीत प्रतियोगिता, खाना महोसव तथा बाल उद्यान सञ्चालन गरिने प्रचारप्रसार व्यवस्थापन संयोजक भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments