एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने

काठमाडौँ/ नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

दिउँसो ३:३० बजे सुरु हुने यो ‘महाभिडन्त’ दुई राष्ट्रिय स्टार खेलाडीहरूको कप्तानीको परीक्षा समेत बन्नेछ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम र राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सबीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

फाइनलसम्मको यात्रा: कसरी पुगे दुई टोली ?

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोलीले विराटनगरलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका हुन्।

सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानका साथ फाइनलमा स्थान सुरक्षित गरेको थियो। गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भई उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम, यसपटक भने उपाधि जित्ने दृढ सङ्कल्पका साथ मैदान उत्रँदैछ।

अर्कोतर्फ, लुम्बिनी लायन्सको फाइनल यात्रा अलि घुमाउरो रह्यो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो। तर, उक्त खेलमा लुम्बिनीले विराटनगरलाई ४० रनले हराउँदै फाइनलमा सुदूरपश्चिमसँगको भेट पक्का गर्‍यो। गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक रोहित पौडेलको कप्तानीमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि नजिक पुगेको हो।

Lahachhap
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी । तस्बिरः एनपिएल

विगतको नतिजा र मनोवैज्ञानिक पक्ष

जारी लिगको समूह चरणमा यी दुई टोलीबीच भएको खेलमा सुदूरपश्चिम रोयल्स हाबी भएको थियो। उक्त खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो। यो नतिजाले फाइनलमा सुदूरपश्चिमलाई मनोवैज्ञानिक लाभ दिन सक्छ। यद्यपि, ‘गर वा मर’ को फाइनल खेलमा लुम्बिनी लायन्स बदला लिने दाउमा हुनेछ भने सुदूरपश्चिम आफ्नो लय कायमै राख्न चाहन्छ।

दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङ र फिल्डिङ तथा रोहित पौडेलको रणनीतिक कप्तानी र संयमित ब्याटिङबीचको प्रतिस्पर्धाले कीर्तिपुरको मैदान तताउने निश्चित छ।

पुरस्कार राशिको वर्षा

एनपिएलको दोस्रो संस्करणको विजेताले नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित पुरस्कार राशि प्राप्त गर्नेछ। विजेता टोलीले रु १ करोड १० लाख नगद पुरस्कार पाउनेछ।

त्यस्तै, उपविजेता बन्ने टोलीले रु ५१ लाखमा चित्त बुझाउनेछ भने तेस्रो हुने टोलीले रु २५ लाख र चौथो हुने टोलीले रु १५ लाख प्राप्त गर्नेछन्।

मङ्सिर १ गतेदेखि सुरु भएको यो प्रतियोगितामा देशका विभिन्न सहरहरूको प्रतिनिधित्व गर्ने आठ टोलीको सहभागिता रहेको थियो। करिब एक महिना लामो क्रिकेट उत्सवको अन्त्य शनिबार भव्य फाइनलसँगै हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments