म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रुपान्तरण

म्याग्दी/बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’ (फलफूल) र ‘मिल्क’ दूध गाउँमा रुपान्तरण भएको छ । करिब १६ घरपरिवारको बसोबास रहेको बास्कुनाका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती र गाईभैँसीपालन गरेर फलफूल र दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् ।

झण्डै २० वर्षअघि अगुवा किसान तिलक गुरुङले बास्कुनालाई ‘एफएम भिलेज’ बनाउने परिकल्पना गर्नुभएको थियो । “धान फल्ने खेतबारी मासेर काँडाको रुख रोप्न थालेको भनेर सुरु सुरुमा धेरैले विश्वास गरेनन्, म आफैले सुन्तला र दूध बेचेर आम्दानी गर्न थालेपछि बल्ल साथ पाए”, उहाँले भन्नुभयो, “पूरै गाउँ सुन्तलाखेती र दूध उत्पादनमा आवद्ध भएपछि बास्कुनालाई एफएम भिलेज बनाउने मेरो सपना पूरा भएको छ ।” तीन सय ५० बोटमा गतवर्ष रु १४ लाखको सुन्तला बिक्री गरेका केञ्जन बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्नुहुन्छ ।

यसवर्ष सुन्तला बिक्रीबाट गाउँमा रु दुई करोड भित्र्ने बास्कुना कृषि सहकारी संस्थाका सञ्चालकसमेत रहेका किसान गुरुङको अनुमान छ । धादिङबाट आएका व्यापारीले बगैँचा नै ठेक्का लिएर प्रतिकिलो रु ८० का दरले बेनी, पोखरा, काठमाडांँैमा बास्कुनाका सुन्तला टिपेर लैजाने गरेका छन् । बास्कुना कृषि सहकारी संस्थामार्फत प्रति दिन ५०० देखि एक हजार लिटर दूध पोखराको सुजल डेरीमा बिक्री हुने गरेको छ ।

यसअघि बेनीमा दूध बेच्दै आएका यहाँका किसानले गत असोजदेखि सिङ्गामा सङ्कलन केन्द्र स्थापना गरेर पोखरामा बिक्री गर्न थालेका हुन् । बास्कुना, सुर्केमेला र थामडाँडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । करिब ५० हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रङ्गिएको छ । सुन्तला बगँैचा अवलोकनका लागि किसान समूह र पाहुना बास्कुना पुग्छन् ।

खेतबारीमा धान, मकै र कोदोबाली रोप्न छाडेर सुन्तलाखेती गरेका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । किसान मेककुमारी र टेकबहादुर खत्री दम्पत्तीले यसपाली रु १० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभयो । गतवर्ष नौ लाखको सुन्तला बेचेका खत्रीले यसपाली उत्पादन दिने बोट थपिएकाले उत्पादन र आम्दानी बढेको बताउनुभयो ।

सुन बचेर सुन्तलाखेती गरेकी ७० वर्षीय तीलकुमारी हुमेनको परिवारको जीवनस्तर अहिले सुन्तलाखेतीबाटै फेरिएको छ । “सुन बेचेर सुन्तला लगाएको थिएँ, सुन्तलाले सुनै फलाए जस्तो भयो मलाई, सुन्तलाकै आम्दानीले बेचेको सुन पनि फर्काएँ”, उहाँले भन्नुभयो, “यसैको आम्दानीबाट घरखर्च सहजै चलेको छ ।” उहाँ र दुई छोराको सुन्तला बगैँचामा अहिले करिब चार सयबढी बोट छन् । वार्षिक रु १५ लाख मूल्य बराबरको सुन्तला बिक्री हुने हुमेनले बताउनुभयो ।

सुन्तला बिक्री गरेर एकजना किसानले रु एक लाखदेखि १५ लाखसम्म आम्दानी गरेका छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादिलो हुने सुन्तला व्यापारी कान्छा तामाङले बताउनुभयो । मूल्यमा एकरुपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले सुन्तलाको न्यूनतम मूल्य कायम गरिएको बेनी–४ का वडासदस्य सन्दीप खत्रीले बताउनुभयो । गतवर्ष रु ८५ प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो ।

“यसअघि मङ्सिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो । किसानले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए”, उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षयता किसानले सामान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ ।”

कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झ¥याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।

प्रदेश सरकारमार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण भएको थियो । सिँचाइ सुविधा भएपछि सुन्तलाखेती गरेका किसानलाई सहज भएको छ । बेनी–थामडाँडा–बरङ्जा सडक स्तरोन्नति नहुनु, बाँदर आतङ्क र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतीका रुपमा देखिएको किसानले बताएका छन् ।

किसानसमेत रहेका वडासदस्य खत्रीले बेनी–थामडाँडा सडक स्तरोन्नति, सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments