काठमाडौँ / आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटाबाट नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा प्रत्यक्ष तर्फका उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आज बसेको जिल्ला पदाधिकारी, महासमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जिल्ला सभापति दिनेश राईले जानकारी दिए।
उनका अनुसार महामन्त्री थापा काँग्रेसको भावी सभापति तथा प्रधानमन्त्रीका रूपमा समेत हेरिएकाले जिल्लाबाट उनको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो।
जिल्ला सभापति राईका अनुसार विगतमा पनि सूर्यबहादुर थापा, नगेन्द्र प्रसाद रिजाल र वर्तमान प्रधानमन्त्री सुशीला कार्की धनकुटा प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेको इतिहास भएकाले पनि थापाको नेतृत्व सक्षम विकल्पका रूपमा प्रस्तुत गरिएको हो।
बैठकले प्रत्यक्षतर्फका लागि जिल्ला सभापति दिनेश राई, पूर्व जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ र हरिकुमार राई लगायतको नाम समेत सिफारिस गरिएको जिल्ला सचिव विजयसन्तोषी राईले बताए।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, संविधान सभा सदस्य लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई र पूर्वजिल्ला सचिव रविन्द्र नेपाली लगायतका नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा कमोट फागो, सिता प्रधान लगायतका नामहरू सिफारिस गरिएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित