विश्वभर लोकप्रिय मानिने ‘आइम्याक्स’ प्रविधि भएको चलचित्र भवन नेपालमा भने छैन ।
काठमाडौँ/ आधुनिक चलचित्र भवनका लागि विकसित गरिएको अत्याधुनिक प्रदर्शन प्रणाली ‘आइम्याक्स’ हो । साधारणभन्दा धेरै ठूलो पर्दा, उच्च रेजोल्युसनका ‘क्यामेरा र प्रोजेक्सन’, शक्तिशाली ध्वनि प्रणाली तथा उत्कृष्ट चित्र गुणस्तर यसको विशेषता हुन् । विशेषतः ‘आइम्याक्स’कै लागि छायाङ्कन गरी तयार गरिएको चलचित्र यस्तो प्रविधि भएको हलमा हेर्दा पर्दामा देखिने दृश्य अझ जीवन्त, विस्तृत र वास्तविक जस्तै अनुभव हुने दर्शकको भनाइ छ ।
विश्वभर लोकप्रिय मानिने ‘आइम्याक्स’ प्रविधि भएको चलचित्र भवन नेपालमा भने छैन । चलचित्र भवन नभएकै कारण ‘आइम्याक्स’ प्रविधिमा नेपाली चलचित्र प्रदर्शन हुने कुरा कल्पनाभन्दा परको सपना जस्तै हो । तर करिब दुई वर्षअघि २०८० भदौको अन्तिम साता नेपाली चलचित्र बेलायतको लन्डनस्थित लेस्टर स्क्वायरमा रहेको ‘आइम्याक्स सिने वल्र्ड’ मा देखाइयो । बेलायतमा आफ्नो छुट्टै प्रभाव छाड्न सफल गोर्खा सैनिकको कथामा तयार गरिएको ‘गोर्खा वारियर’ पहिलोपटक ‘आइम्याक्स’ प्रविधिमा प्रदर्शन हुने नेपाली चलचित्र बन्यो ।
पूर्वगोर्खा सैनिक रहिसक्नुभएका निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाइएको छ । भारतीय चलचित्रले समेत ‘वल्र्ड प्रिमियर’ को अनुमति पाउन सङ्घर्ष गर्नुपर्ने लेस्टर स्क्वायरको ‘आइम्याक्स’ मा नेपाली चलचित्र प्रदर्शन हुनु नेपालका लागि गौरवको विषय भएता पनि यसका लागि निकै समय लागेको थियो । निर्देशक चाम्सले विदेशी चलचित्रको ‘प्रिमियर’ हुँदा नेपाली चलचित्रलाई त्यहाँ प्रदर्शन गर्ने र नेपाली कलाकर्मीलाई त्यहाँ ‘रेड कार्पेट’ मा हिँडाउने सपना देख्ने गरेको बताउनुभयो ।
“विदेशी कलाकार र उनीहरुले अभिनय गरेको चलचित्रको तामझाम हेर्दा एक दिन म आफैँ यहाँ नेपाली चलचित्र ल्याउँछु भन्ने लाग्थ्यो । त्यसका लागि मैले चलचित्र निर्देशन गरेदेखि नै प्रयास नगरेको होइन तर ‘आइम्याक्स’ प्रविधि रहेको चलचित्र भवनको आफ्नै नीतिनियम हुन्छ । सोही कारणले सुरुआती दिनमा आफ्ना चलचित्रलाई त्यहाँ प्रदर्शन गर्न सकिन”, उहाँले भन्नुभयो ।
‘गोर्खा वारियर’ अगाडि निर्देशक चाम्स आफैँले निर्देशन गर्नुभएको अन्य नेपाली चलचित्र ‘प्रिमियर’ गर्न गरिएको प्रस्तावलाई ‘आइम्याक्स सिने वल्र्ड’ ले अस्वीकार गरिरहेको थियो । उनीहरूले विषयवस्तु, भाषागत क्षमता, प्राविधिक सहजता लगायतका विविध पाटोलाई हेर्ने गर्थे । निर्देशक चाम्स आफैँले पनि यी तथ्यलाई धेरैपछि बुझ्नुभयो ।
“लन्डनमा रहेको आइम्याक्समा प्रिमियर गर्न पैसा भएर मात्र हुँदैन । उनीहरूले कुन भाषा, स्टार वा कम्पनीको चलचित्रलाई ‘प्रिमियर’ ग¥यो भन्ने हुन्छ । सम्भवतः म आफैँ पनि अन्य चलचित्र त्यहाँ प्रदर्शनी गर्न सक्दिन । त्यहाँ खर्चालु मात्र नभएर धेरै कुरा मिलाउनुपर्ने हुन्छ । मैले ‘गोर्खा वारियर’ को प्रिमियर गर्न पाउनाका कारण गोर्खालीप्रति बेलायतीको सम्मान र हाम्रो वीरताको गाथा नै हो”, निर्देशक चाम्सले भन्नुभयो ।
पटकपटकको प्रयासमा असफल हुनुभएका निर्देशक चाम्सले ‘गोर्खा वारियर’ चलचित्र ‘आइम्याक्स’ प्रविधिमा ‘प्रिमियर’ गर्न एक वर्षको समय नै छुट्याएर तयारी गर्नुभयो । चलचित्र भवनलाई गोर्खा सैनिकको वीरताको कथामा बनेको चलचित्र प्रिमियर गर्ने भनेर चिठी लेख्नुभयो । बेलायतमा नेपाली र गोर्खा सैनिकलाई गर्ने सम्मानका कारण चलचित्र भवनले एउटा समय दियो । उक्त समयका लागि आर्थिकसँगै त्यहाँ मिलाउनुपर्ने प्राविधिक पक्षहरूले कैयौँ रात निर्देशक चाम्सलाई निदाउन दिएनन् । फलतः एक दशकको एउटा सपनाले मूर्तरुप पायो ।
“गोर्खा सैनिकको कथा नभएको भए संवत ‘प्रिमियर’ गर्ने अनुमति पाउने थिएनौँ । त्यसपछि त्यहाँ ‘रेड कार्पेट’ गरिने स्थानमा रहेका पसलहरूसँग सहमति लिनुपर्छ । त्यहाँ आउने विशिष्ट अतिथिका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनु पर्छ । सबैभन्दा महत्वपूर्ण हामीले हाम्रो प्रविधिमा तयार गरेको चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गर्नुपर्छ । यी सब सपनालाई मूर्तरुप दिन धेरै रात अनिदो बसेर काम गरेको छु”, निर्देशक चाम्सले भन्नुभयो ।
नेपाली चलचित्र लेस्टर स्क्वायरमा ‘प्रिमियर’ हुने खबरले लन्डनमा निकै चर्चा पाएको थियो । लेस्टर स्क्वायर त्यसै पनि विभिन्न चलचित्र भवन, नाटक मञ्चन गरिने रङ्गमञ्चलगायतका लागि प्रसिद्ध छ । त्यहाँ हरेक कोणमा चलचित्र र कला देखिन्छ । लन्डन मात्र नभई इङ्ग्ल्यान्डकै ‘सिनेमा हब’ का रुपमा परिचित उक्त स्थानमा भएको नेपाली चलचित्रको गतिविधिले बजार विस्तारको सम्भावनालाई पनि सघाएको थियो । त्यहाँ आइपुग्ने चलचित्र पारखीले नेपाली चलचित्रको प्रदर्शनी हुँदैछ भन्दा निकै चासोपूर्वक बुझ्न खोज्थे ।
“मैले २० वर्षअघि देखेको यो सपना पूरा गरेँ । त्यसको प्रभाव नेपालमा के कस्तो प¥यो त्यो भन्न सक्दिन तर नेपाली चलचित्र अत्याधुनिक प्रविधिसँगै बेलायतको मुख्य स्थानमा प्रदर्शन भयो, जहाँ विश्वका प्रसिद्ध निर्देशकका चलचित्र प्रदर्शन हुन्छन् । यसले कालान्तरमा सम्पूर्ण नेपाली चलचित्रलाई टेवा पु¥याउने छ”, निर्देशक चाम्सले भन्नुभयो । ‘आइम्याक्स सिने वल्र्ड’ मा प्रदर्शनी गर्ने तय भएपछि निश्चित शुल्क लिएर चलचित्र भवनले नै ‘गोर्खा वारियर’ लाई ‘आइम्याक्स’ प्रविधिमा रुपान्तरण गरेको निर्देशक चाम्सले जानकारी दिनुभयो ।
लन्डनमा उक्त प्रदर्शनीको चर्चा अझै हुने गर्छ । त्यहाँ आठ सयको हाराहारीमा दर्शकले चलचित्र हेरका थिए । नेपाली चलचित्रलाई ‘आइम्याक्स’ प्रविधिमा हेर्नुको अनुभव छुट्टै रहेको भनाइ उक्त प्रदर्शनीमा सहभागी हुनुभएका नेपालका सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यो क्षणलाई शब्दमा व्यक्त गर्नै सकिँदैन । चलचित्र हेराइको अत्याधुनिक अनुभव हो, ‘आइम्याक्स’ । त्यहाँ नेपाली चलचित्र पहिलोपटक प्रदर्शन हुँदै थियो । त्यहाँ नेपालीसँगै बेलायती र अन्य देशका नागरिक पनि सहभागी थिए किनकि उनीहरू बेलायतको रक्षार्थ आफ्नो ज्यानको प्रभाव नगरेका वीर गोर्खा सैनिकको कथालाई हेर्न उत्साहित थिए । त्यो समय स्मरण गर्दा पनि आनन्द आउँछ ।”
नेपाल र नेपालीको शान बढाउने अर्को नेपाली चलचित्र ‘आइम्याक्स’ मा आगामी समयमा कहिले होला ? यसको जवाफ भने कसैसँग छैन । किनकी आर्थिक पाटोसँगै अन्य विविध पक्ष नमिलेसम्म त्यहाँ अर्को चलचित्र प्रदर्शन गर्न कठिन छ । निर्देशक चाम्स आफैँ पूर्वगोर्खा सैनिक भएका कारण व्यावसायिक पाटोलाई ध्यान नदिई एउटा सपना पूरा गर्न अहोरात्र मिहेनत गर्नुभयो । उहाँले चलचित्र तयार गरेर त्यहाँ प्रदर्शन गर्न झण्डै एक दशकको समय लागेको बताउनुभयो ।
“म आफैँ पूर्वसैनिक भएकाले हाम्रो वीरताको कथालाई विश्वभर देखाउने एउटा सपना थियो । त्यो पूरा गरेँ, त्यसक्रममा मैले गरेको सङ्घर्षलाई ‘आइम्याक्स’ मा प्रदर्शन भएको दिन भुलायो । एउटा इतिहास बनेको छ, हामी गोर्खालीको वीरता त्यहाँ विश्वभरका चलचित्रकर्मीले हेरेका छन् । यसले आउँदा दिनमा नेपाली चलचित्रलाई पक्कै सघाउनेछ”, निर्देशक चाम्सले भन्नुभयो ।
उक्त चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ । २०८० साल फागुनमा नेपालमा समेत प्रदर्शन भएको उक्त चलचित्रमा वास्तविक झैँ लाग्ने युद्धका दृश्य देखाइएको भन्दै प्रशंसा भएको थियो ।
नेपालमा पछिल्लो समयमा नेपाली चलचित्रले प्राविधिक रूपमा ठूलो फड्को मारेका छन् । नेपाली कथा र फिल्म विश्वका प्रतिष्ठित चलचित्र महोत्सवसम्म पुग्न थालेका छन् । तर ‘आइम्याक्स’ प्रविधि भने नेपालमा कहिले भित्रिन्छ भन्ने प्रश्नको स्पष्ट उत्तर स्वयं चलचित्र प्रदर्शकसँग पनि छैन किनकि उक्त प्रविधि जडान गरी हल सञ्चालन गर्न अत्यन्तै खर्चिलो मानिन्छ ।-भेषराज कार्की / रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित