काठमाडौँ/अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।
यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।
काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, “नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।”
अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वनजिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पु¥याउने मैले विश्वास लिएको छु ।”
अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।
काठमाडौँ/उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अन्तरराष्ट्रिय दिवस, २०२५ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, यसलाई सबैले आत्मसात र अवलम्बन गर्न जरुरी छ ।”
उहाँले सबैमा समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा सङ्कल्पलाई पुनः स्मरण गराउने बताउँदै उहाँले दिवसले थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“हामी सबै एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार गर्न, उहाँहरूको अधिकारको संरक्षण गर्न तथा हरेक क्षेत्रमा समावेशिता सुनिश्चित गर्न निरन्तर अघि बढ्न सक्नुपर्दछ, न्यायपूर्ण, समावेशी र सम्मानजनक समाज निर्माण हामी सबैको साझा जिम्मेवारी हो, हामीले सबै नागरिकको योगदानलाई मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्ने वातावरण सृजना गर्नु सबैको कर्तव्य र दायित्व हो”, सन्देशमा भनिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित