काठमाडौँ । नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ ।
दिनेश राउतद्वारा निर्देशित चलचित्रको गीत सार्वजनिकसँगै निर्माण टोलीले चलचित्रको रिलिज समय पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ ।
यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो । गायक केहरसिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत ‘जेन जेड’ पुस्ताबीच लोकप्रिय बन्दै गएको छ ।
चलचित्रको मुख्य भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी रहेका छन् । दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा ‘डेब्यू’ गर्दै छन् । साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
‘आई एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन् । पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन् । ‘कुमारी’को प्रोजेक्ट ‘पुजार सार्की’भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो ।
‘कुमारी’मा चार गीत रहनेछन् । सबै गीतमा स्वर केहर सिंह लिम्बूले दिएका छन् भने सङ्गीतमा लिम्बूसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन् । कार्यकारी निर्माता केदार भुसाल रहेका छन् ।
‘कुमारी’को डिजिटल वितरण केन्द्र मोसन पिक्चर्सले गरेको छ भने काठमाडौँ उपत्यकामा डिसिएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले थिएट्रिकल वितरण गर्दैछन् । यसको प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, मुख्य सहायक निर्देशकमा दिनेशबहादुर रावत रहेका छन् ।
चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित